नेकपाभित्रको संकट गहिरिँदै, सरकार परिवर्तन गर्नेसम्मको योजना

मदन कोइराला
१५ वैशाख २०७७ १०:४१

काठमाडौं। एक हप्ता अगाडि सरकारले जारी गरेको दुई वटा अध्यादेशलाई लिएर सत्तारुढ दल नेकपाभित्र बढेको विवाद झन् बढ्दै गएको छ। विशेष गरी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल पक्षधरले स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर समूह अप्ठेरोमा परेको छ।

प्रचण्ड–नेपाल पक्षधर स्थायी कमिटी बैठक बोलाउनु पर्ने अडानमा छन् भने ओली पक्षधर जसरी पनि बैठक रोक्ने पक्षमा रहेका छ। त्यसका लागि प्रधानमन्त्री ओलीले पूर्व एमाले समूहका नेतासँगको छलफललाई तीव्रता दिएका छन्। शनिबार ओलीले उपाध्यक्ष वामदेव गौतमसँग लामो छलफल गरेका थिए भने आज (सोमबार) वरिष्ठ नेता माधव नेपालसँग छलफल गर्दैछन्।

पार्टीभित्रको विवाद मिलाउन केही मध्यमार्गी नेताले कोशिश जारी राखेका छन्। तर विवाद मिल्ने संकेत देखिएको छैन। ‘अहिले पार्टीभित्र देखिएको विवाद समाधान भएन भने यसले पार्टीलाई मात्रै होइन, अहिलेको व्यवस्थालाई नै अप्ठेरो पार्छ,’ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘विगतमा जनताले नेपाली कांग्रेसलाई बहुमत दिँदा कांग्रेसले बहुमत धान्न सकेन, अहिले कम्युनिष्टलाई झण्डै दुई तिहाई बहुमत दिँदा कम्युनिष्टले पनि धान्न सकेन भने भोलि जनताले कसलाई भोट दिने?’

स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले पूर्व एमालेलाई एक जुट बनाएर वर्तमान समस्याको निकास खोज्ने तयारीमा छन्। तर विगतमा ओली पक्षबाट धोका र अपमान पाएको भन्दै नेपाल पक्षधर उधारो सहमति नगर्ने पक्षमा देखिएका छन्।

नेपाल पक्षधर तत्काल स्थायी कमिटी बोलाउनु पर्ने र सम्पूर्ण विषयको छलफल त्यहीँ हुनुपर्ने पक्षमा छन्। आइतबार नेता नेपालले आफू पक्षीय स्थायी कमिटी सदस्यसँग छलफल गरेका थिए। उक्त छलफलमा स्थायी कमिटी सदस्यहरुले चाँडै स्थायी कमिटी बैठक बोलाउन दबाब दिनुपर्ने सुझाव दिएका थिए।

‘कोरोना भाइरस संक्रमणका कारण अहिले भारतसँगका सबै नाका सील छन् तर चीनसँगको नाका तातोपानी अहिले पनि संचालनमा छ। यो विषय कसैलाई पाच्य भइरहेको छैन,’ ‘नेकपाभित्र अहिले देखिएको विवादमा खेल्ने र त्यही बहानामा सरकार परिवर्तन गर्ने खेल भइरहेको छ।’

यसअघिनै २० जना स्थायी कमिटी सदस्यले बैठक बेलाउन लिखित रुपमा माग गरेका छन्। अहिले बैठक बोलाउनबाट रोक्न सक्ने अवस्थामा ओली छैनन्।
नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अहिले देखिएका सबै विषयमा गम्भीर छलफल आवश्यक भएको र त्यसका लागि स्थायीक कमिटी बैठक अनियवार्य रहेको बताउँछन्।

‘२० जना स्थायी कमिटी सदस्यले लिखित रुपमा बैठकको माग गरेको हुनाले स्थायी कमिटी बैठक चाँडै बस्नुपर्छ,’ खनालले डिसी नेपालसँग भने, ‘बैठकमा अहिले बाहिर आएका विषय नै एजेण्डा हुन्। पहिला सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटी बैठक पनि बोलाउनुपर्छ।’

सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा पनि ओली पक्षधर अल्पमतमा छ। त्यही भएर पनि ओली पक्षधर सकेसम्म बैठक रोक्नुपर्ने पक्षमा छ।
सबै पक्ष आ–आफ्नै अडानमा रहेपछि केही नेता विवाद मिलाउन सक्रिय भएका छन्। अहिलेको विवाद बढ्दै गएर सरकार परिवर्तनसम्म हुने स्थिति आयो भने त्यसले नेकपा र अहिलेको सिस्टमलाई नै अप्ठेरोमा पार्ने भन्दै विवाद समाधानको प्रयास भइरहेको छ।

‘आँखै अगाडि दुर्घटना हुन नदिने कोशिशमा छौं,’ नाम उल्लेख नगर्ने एक नेताले डिसी नेपालसँग भने, ‘अहिले सरकार परिवर्तन गर्नेसम्मको खेल हुनसक्ने स्थिति देखिएको छ। हामी त्यसलाई रोक्न वार्ता र छलफलमार्फत समाधान गर्ने कोशिश गरिरहेका छौं। तर त्यति सकारात्मक रुपमा परिणाम आइसकेको छैन।’

ओली पक्षधरले वर्तमान सरकारले देश र जनताको पक्षमा दृढतापूर्वक काम गरेर यहाँ सम्म आइपुगेको र त्यसबाट केही तत्व खुशी नभएको निष्कर्ष निकाल्दै त्यही तत्वले अहिलेको अवस्थामा खेल्न खोजेको विश्लेषण गरेको छ।

‘कोरोना भाइरस संक्रमणका कारण अहिले भारतसँगका सबै नाका सील छन् तर चीनसँगको नाका तातोपानी अहिले पनि संचालनमा छ। यो विषय कसैलाई पाच्य भइरहेको छैन,’ नाम उल्लेख नगर्ने शर्तमा ओली निकट एक नेताले भने, ‘नेकपाभित्र अहिले देखिएको विवादमा खेल्ने र त्यही बहानामा सरकार परिवर्तन गर्ने खेल भइरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *