सयौँको भीडमा न सामाजिक दूरी छ,न मास्क नै

धनकुमार कार्की
१७ वैशाख २०७७ ११:४२

मोरङ। मंगलबार मोरङको ग्रामथान गाउँपालिकास्थित मोतीपुर भन्ने ठाउँमा मान्छेहरुको निकै चाप देखिन्थ्यो। झट्ट हेर्दा कुनै मेला जस्तो देखिन्थ्यो नभन्दै त्यो हाट लागेको रहेछ। हाट अरु बेला जस्तै सामान्य चलिरहेको थियो।

मद्यपान बेच्नेदेखि चटपटे बेच्ने पसलहरुमा एकदमै भिड थियो। त्यस हाटमा न सामाजिक दूरी कायम गरिएको छ, न त कसैले मास्क नै लगाएका छन्। सबै आ–आफ्नै सुरमा चलिरहेका थिए। यो नेपाल–भारत सीमादेखि २० किमि आसपास भित्र पर्ने क्षेत्र हो।

हप्तामा दुई दिन हाट लाग्ने त्यस ठाउँमा अघिल्लो हप्ता हाट लागेकै बेला शसस्त्र प्रहरी बलको टोलीले तितरबितर पारेको थियो। तर पछि लगातार हाट लाग्ने ठाउँ परिवर्तन गरी हाट लगाउन थालेको स्थानीय बताउँछन्। नजिकै एउटा प्रहरी चौकी रहको छ तर कसैले पनि त्यसतर्फ ध्यान दिएको छैन।

विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगातार एक महिनादेखि लकडाउन गरेको छ। लकडाउनमा सामाजिक दूरी कायम गर्न पनि भनेको छ। एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने र सामाजिक दूरी कायम गर्नुपर्ने भनिए पनि मोरङको भित्री गाउँहरुमा अब्यवस्थित हाट लाग्ने गरेको छ।

हप्तामा बारअनुसार लाग्ने हाटमा सँधैझै भिड देखिएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रङगेली नगरपालिका, धनपालथान गाउँपालीका, कटहरी गाउँपालिका, बेलबारी नगरपालिका जहदा गाउँपालिका आदिका हाट लाग्ने स्थानहरुमा सम्बन्धीत निकायलाई समेत बेववास्ता गरी हाट लाग्ने गरेको हो।

भारतसँग खुला सिमानामा जोडिएका दक्षिणका अधिकांश स्थानहरु आफैमा जोखिमपूुर्ण रहेका बेला यसरी दैनिक उपभोग्य सामानहरु लिने स्थानमा नै भिडभाड गर्न दिनुले अझै जोखिम थपिदिएकाले स्थानीय त्रसित भएर किनमेल गर्न बाध्य छन्। एकातिर भारतबाट संक्रमितहरु छिर्ने डर अर्काेतिर दैनिक छाक टार्नुपर्ने पिर परेकाले समस्यामा परेको स्थानीय बताउँछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *