संकटको बेलामा गलत सूचनाले नागरिक तर्साउँदै साउदीस्थित नेपाली दूतावासका कर्मचारी

डिसी नेपाल
१८ वैशाख २०७७ १३:१०

काठमाडौँ । साउदी अरबको रियादमा रहेको नेपाली दूतावासले गलत सूचना प्रवाह गर्दा नेपालीहरु तर्सिएका छन् । दूतावासले साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारीको विषयमा आफ्नो फेसबुक पेजबाट नियमित अपडेट दिँदै आएको थियो ।

तर, २०७७ बैशाख १७ गते बुधवार (अप्रिल २९) मा दूतावासका कर्मचारीले अपडेट दिने क्रममा १ महिना भन्दा पहिलाको सूचना फेसबुकमा पोस्ट गरेका छन् । उनीहरुले फेसबुकको पोस्टमा अप्रिल २९ कै अपडेट दिएका छन् । तर, साथमा पोस्ट गरिएको लेटरहेडमा लेखिएको सूचना भने गएको मार्च २३ तारिखमा महाबाणिज्य दूतावास जेद्दाले जारी गरेको सूचना अपलोड गरेका छन् ।

बुधबार सम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २१ हजार ४ सय २ पुगेको छ । संक्रमितहरु मध्ये २ हजार ९ सय ५३ जना उपचार पछि निको भएका छन् । त्यस्तै १ सय ५७ जना संक्रमितको मृत्यु भएको छ । तर, दूतावासकै अफिसियल फेसबुक पेजमार्फत अघिल्लो महिनाको अपडेट शेयर हुँदा नेपालीहरु भ्रममा परेका छन् । फोटोमा गएको मार्च २३ तारिखको जानकारी अपडेट गरिएको छ । त्यत्तिबेला साउदीमा कोरोना संक्रमितको संख्या ५ सय ११ मात्र थियो । जसमध्ये १७ जना उपचारपछि निको भएका थिए ।

संक्रमितको संख्या २१ हजार नाघिसकेको अवस्थामा दूतावासबाटै ५ सय ११ जना संक्रमित भन्ने पुरानो जानकारी पोष्ट गरिंदा धेरै नेपालीले ५ सय ११ जना नेपाली भन्ने बुझेका छन् । सोही पोस्टको कमेण्टमा धेरैले दूतावासले भ्रम छरेको भन्दै आलोचना समेत गरेका छन् । कतिपयले त साउदीमा ५ सय ११ नेपाली संक्रमित भएको भनेर यो पोस्ट शेयर गर्दै भाइरल समेत गराएका छन् ।

डिसी नेपालले यस विषयमा बुझ्न साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र सिंह राजपुतलाई सम्पर्क गरेको थियो । उनले आफूलाई यो विषयमा केही जानकारी नभएको बताए । उनका अनुसार साउदी अधिकारीले दूतावासलाई हालसम्म ४ जना नेपाली संक्रमित भएको र उनीहरु सबै जना निको भैसकेको जानकारी दिएका छन् ।

उनले दूतावासका कर्मचारीबाट भूलबश त्यस्तो गल्ती भएको हुनसक्ने बताए । यस विषयमा आफूले तुरुन्तै छानबिन गर्ने समेत उनले बताए । उनले ४ जना नेपाली बाहेक थप नेपाली संक्रमित भएको आधिकारिक जानकारी नआएकोले नआत्तिन समेत आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *