अमेरिकाले प्रयोगमा ल्याएको औषधि के हो ? के यसले कोभिड-१९ निको पार्छ ?

डिसी नेपाल
२० वैशाख २०७७ ७:००

अमेरिकामा खाध्यवस्तुहरु र औषधिलगायत जनस्वास्थ्यमा प्रत्यक्ष्य प्रभाब पार्ने अन्य धेरै उत्पादनहरुलाई निगरानी गर्ने र मान्यता प्रदान गर्ने प्रमुख सरकारी निकायFood and Drug Administration’ ले ’रेम्डेसीभिअर’ नाम गरेको औषधिलाई कोभिड–१९ का बिरामीहरुमा ‘आपतकालीन प्रयोगको अनुमति’ प्रदान गरेको छ।

उक्त संस्थाले जारी गरेको सूचना यो लिंक https://www.fda.gov/media/137564/download मा हेर्न सकिन्छ। ’रेम्डेसीभिअर’ अनुसन्धानमै रहेको औषधि हो। ‘रेम्डेसीभिअर’ ले संक्रमण पश्चात भाइरसको संख्या वृद्धि हुनबाट रोक्ने काम गर्छ। यसको उत्पादन विशेष गरी इबोला र मारबर्ग नाम गरेका भाइरसहरुलाइ लक्षित गरी गरिएको थियो।

तर, पछि प्रयोगशालामा गरिएका अनुसन्धानहरुमा यो औषधिले अरु विभिन्न किसिमका भाइरसको विरुद्ध पनि काम गर्न सक्ने सम्भावना देखियो। उदाहरणका लागि सन् २०१७ मा ’साइन्स ट्रान्सलेसनल मेडिसिन’ जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा ’रेम्डेसीभिअर’ ले सार्स, मर्स लगायत चमेरामा पाइने विभिन्न प्रकारका कोरोना भाइरस (bat coronavirus) विरुद्ध काम गर्न सक्ने सम्भावना देखाएको थियो।

आपतकालीन प्रयोगकोलागि नै भएपनिरेम्डेसीभिअरले मान्यता पाउनुलाई कोभिड१९ विरुद्धको औषधिको खोजमा एउटा ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ

केही महिनाअगाडि अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ नामक संस्थाले बांदरमा गरेको परीक्षणमा ’रेम्डेसीभिअर’ को प्रयोग गर्दा कोविड–१९ ले गराउने श्वासप्रश्वाससम्बन्धी समस्या र फोक्सोमा हुने असर उल्लेख्यरुपमा कम भएको पाइयो । त्यसैगरी ’रेम्डेसीभिअर’ले बादरको स्वासप्रस्वास प्रणालीमा भाइरसको संख्या पनि घटाएको थियो ।

केही दिनअगाडि मात्र अमेरिकाको ’नेसनल इन्स्टिच्युट अफ हेल्थ’ संस्थाले नै मान्छेमा गरेको ’रेम्डेसीभिअर’को परिक्षणको प्रारम्भिक नतिजा वाहिर ल्यायो । यो प्रारम्भिक नतिजाका अनुसार ’रेम्डेसीभिअर’ प्रयोग गरेका विरामीहरु औषधी नदिएका विरामीको तुलनामा छिटै निको हुन्छन् । साथै ’रेम्डेसीभिअर’को प्रयोगवाट कोभिड–१९ ले गराउने मृत्युदर पनि घटाउन सकिन्छ ।

अमेरिकाको अनुसन्धानको नतिजा आउनुअगाडि चीनमा गरिएको परीक्षणमा ’रेम्डेसीभिअर’को प्रस्ट फाइदा देखिएको थिएन । चीनमा गरिएको अनुसन्धानको नतिजा ’द ल्यान्सेट’ नाम गरेको जर्नलमा प्रकाशित छ । चीनमा गरिएको अनुसन्धान थोरै विरामीमा गरिएको थियो भने अमेरिकाको अनुसन्धानमा धेरै विरामीहरु समावेश गरिएको छ ।

त्यसैले प्रारम्भिक सकारात्मक नतिजालाई ध्यानमा राख्दै यो ’आपतकालीन प्रयोगको अनुमति’ दिइएको हो । तत्कालका लागि कोभिड–१९ बाट गम्भीर बिरामी भएका (उदाहरणका लागि अक्सिजन दिनुपर्ने) बच्चा र वयस्कमा यो औषधि प्रयोगको अनुमति दिइएको छ ।

’रेम्डेसीभिअर’को प्रयोग गर्दा केही विरामीहरुमा रक्तचाप कम हुने, वाकवाकी लाग्ने, काम्नेजस्ता असरहरु (side effects) देखिन सक्छन् । तर, कोभिड–१९ का विरुद्ध अन्य कुनै वैकल्पिक र उपयोगी औषधि नरहेको अबस्थामा ’रेम्डेसीभिअर’ बाट हुने फाइदा यसबाट हुनसक्ने बेफाइदाभन्दा बढी भएकोले यसलाई ’आपतकालीन प्रयोगको अनुमति’ दिइएको छ ।

अनुसन्धानबाट थपिँदै जाने प्रमाणहरुका आधारमा यसलाई सधैको लागि प्रयोगको ‘स्वीकृति’ दिने कि नदिने भन्ने निक्र्योल गरिन्छ । ‘आपतकालीन प्रयोगको’ लागि नै भएपनि ’रेम्डेसीभिअर’ले मान्यता पाउनुलाई कोभिड–१९ विरुद्धको औषधिको खोजमा एउटा ठूलो उपलब्धिका रुपमा लिन सकिन्छ । आशा गरौं अहिले अनुसन्धानमा रहेको ’रेम्डेसीभिअर’ लगायत अरु औषधिहरुले पनि कोभिड–१९ का विरुद्ध काम गर्नेछन् ।

“डा. सन्तोष ढकाल, अमेरिकाको प्रतिष्ठित जोह्न्स हप्किन्स विश्वविद्यालयमा इन्फ़्लुएञ्जा र कोरोना भाइरसको संक्रमण र खोपको उपयोगिताको क्षेत्रमा अनुसन्धानरत् छन् ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *