कारागार, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा सेना परिचालनको तयारी

डिसी नेपाल
२१ वैशाख २०७७ २१:५२

काठमाडौं। सीमा सुरक्षाका लागि जनशक्ति अभाव भएपछि सरकारले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी संरचनाको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र नेपाली प्रहरीलाई हटाएर सीमा खटाउने भएको छ । भवन तथा प्रतिष्ठानको सुरक्षामा तैनाथ दुवै प्रहरी जनशक्तिलाई नेपाल–भारत सीमा क्षेत्रमा खटाएर सेनालाई भौतिक संरचनाको सुरक्षामा खटाउने भएको हो ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सरकारी संरचना र प्रतिष्ठानमा तैनाथ जनशक्तिको विवरण पेश गर्न पनि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिइएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार महत्वपूर्ण प्रतिष्ठान,सरकारी भवन रसंरचना तथा विभिन्न क्षेत्रको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीको विवरण आगामी बैठकमा पेश गर्न निर्देशन दिइएको र संरचना सुरक्षाको जिम्मा सेनालाई दिने निर्णय भएको बताए ।

गृहको यो निर्णयसँगै देशभरका कारागार,विभिन्न राजदूतावास, नेपालस्ठित अन्य कूटनीतिक नियोग, विशिष्ट व्यक्तिहरु बस्ने निवास तथा कार्यालय लगायत संरचनाको सुरक्षामा अर्को व्यवस्था नभएसम्मका लागि नेपाली सेना खटिने भएको छ । दक्षिणतर्फ नेपाल भारत १ हजार ८ सय ८० किलोमिटर लम्बाईको सीमा क्षेत्रलाई कडाई गरिने छ ।

लकडाउन घोषणापछि सशस्त्र प्रहरीले भारतीय सीमातर्फ १२ सय १३ वटा अस्थायी चेक प्वाइन्ट खडा गरेर करिब २२ हजार जनशक्ति परिचालन गरेको छ भने नेपाल प्रहरीका ४ सय ५० वटा सीमा चौकी र अन्य अस्थायी संरचना गरी ७ हजारभन्दा बढी जनशक्ति खटिएका छन् ।

‘गृहको पछिल्लो निर्णयले सीमा क्षेत्र आवातजावतमा थप कडाइ गर्न अन्य जिल्ला र महत्वपूर्ण भौतिक संरचनाको सुरक्षामा खटिएका जनशक्तिमा पनि सीमा केन्द्रीत गर्न सहज हुनेछ’, प्रवक्ता शर्माले भने आइतबारको सुरक्षा बैठकमा ४ वटा सुरक्षा निकाय,स्वास्थ्य,परराष्ट्र लगायत मन्त्रालयका उच्च अधिकारी उपस्थिती रहेको पनि शर्माले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *