जनकपुरधाममा कोरोना विशेष अस्पताल सञ्चालन

डिसी नेपाल
२७ वैशाख २०७७ १२:३६

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पुर्यायाउन यहाँको नर्सिङ क्याम्पसको हातामा लेभल–२ को ‘कोरोना विशेष अस्पताल’ सञ्चालनमा आएको छ।

प्रदेश सरकारले सञ्चालनमा ल्याएको सो विशेष अस्पतालमा सम्भावित कोरोना सङ्क्रमित गर्भवतीको प्रसूति साथै शल्यक्रिया गर्नेसमेत व्यवस्था रहेको छ।

५० श्ययाको सो विशेष अस्पतालमा आठ श्ययामा आइसीयूको व्यवस्था रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी गराए ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सञ्चालित लेभल–१को सो कोरोना अस्पतालबाट सिफारिस गरिएका मध्यम, जटिल र अतिजटिल बिरामीको सो विशेष अस्पतालमा उपचार हुने उनले जानकारी दिए । सो विशेष अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

यसका साथै विशेष अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको नीतिअनुरुप पर्साको पोखरिया–४ स्थित अस्पतालमा आठ श्ययाको आइसोलेसनकक्ष पनि सञ्चालनमा आएको छ।

यसैबीच प्रदेश नं २ को कोरोना सङ्क्रमणबाट बढी प्रभावित वीरगञ्जको छपकैयामा आज र आइतबार गरी दुई थप जनशक्तिका साथै स्वाबको नमूना सङ्कलन कार्यमा तीव्रता ल्याइने छ।

वीरगञ्जको वडा नं १, २ र ३ लाई स्थानीय प्रशासनले ‘सिल’ गरी कन्टयाक्ट ट्रेसिङ र स्वाबको नमूना सङ्कलन कार्य जारी राखेको छ।

सो स्थानका एकै परिवारका १७ जनामा कोरोना भाइरस भेटिएपछि ती परिवारको आसपासका १८ परिवारका साथै सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी स्वाबको नमूना सङ्कलन कार्यलाई प्रमुखताका साथ अगाडि बढाइएको हो।

सो क्षेत्रमा स्वाब सङ्कलन कार्यमा तीव्रता ल्याउन स्वास्थ्य मन्त्रालयका ‘भाइरल ट्रान्सपोर्ट मिडियम’ (भिटीएम) सहितको जनशक्तिका साथै प्रदेश सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मीका टोली, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र पथलैया, नारायण अस्पतालका साथै पर्साका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी सो कार्यमा जुटेका छन्।

सिल गरिएका सो क्षेत्रमा शुक्रबार २६२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो भने अहिलेसम्म तीन हजार १७३ को सो कार्य गरिएको छ ।

सोमध्ये अहिलेसम्ममा दुई हजार ३९३ को रिपोर्ट नेगेटिभ आएको छ भने ७५० जनाको रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा अहिलेसम्म ३० कोरोना सङ्क्रमित भएका छन्।

दुई जना उपचार गराइ घर फर्केका छन् । २८ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *