यूएईको शारहजामा रहेको एक क्लिनिङ कम्पनीका २२ नेपाली महिला कामदार कोरोना संक्रमित

डिसी नेपाल
२७ वैशाख २०७७ २१:१६

काठमाडौँ । यूएईको शारहजामा रहेको एक क्लिनिङ कम्पनीका २२ जना नेपाली महिला कामदारहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । संक्रमित सबै सरसफाइको काम गर्थे ।

उक्त कम्पनीमा कार्यररत ६१ जनामा शुक्रबार एकैपटक कोरोनाको संक्रमण देखिएको थियो । संक्रमितमध्ये २२ जना नेपाली महिला कामदारहरु रहेको एनआरएनए यूएईका उपाध्यक्ष तथा क्युआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाले डिसी नेपाललाई जानकारी दिए ।

संयोजक शेर्पाका अनुसार उनीहरुलाई कम्पनी व्यवस्थापनले आफ्नै क्वारेन्टाइन बनाएर अलगै राखेको छ। ‘हिजैँ मात्रै उहाँहरुकाे टेस्ट रिपोर्ट आएको हो । कम्पनीका १ सय ४० जनामा परिक्षण गर्दा ६१ जना कामदारमा पोजेटिभ देखिएको थियो,’ उनले भने, ‘ पोजेटिभ रिपोर्ट आएका विभिन्न मुलुकका ६१ जनामध्ये २२ जना नेपाली हुनुहुन्छ । उहाँहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलगै राखेको छ ।’

तर, कम्पनीले बनाएको क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालयको व्यवस्था नभएकोले अहिलेसम्म संक्रमण नभएका अन्य महिलाहरुमा पनि कोरोना सर्न सक्ने जोखिम रहेको उनले बताए । उक्त  कम्पनीमा अन्य नेपाली महिला कामदार पनि रहेको उनको भनाइ छ । ‘अझै पनि त्यो कम्पनीमा धेरै नेपाली महिलाहरु र विभिन्न देशका महिलाहरु काम गर्छन । उनीहरुको रिपोर्ट आउन बाँकी छ, ’ उनले भने, ‘संक्रमितलाई छुट्टै राखिए पनि उनीहरुले प्रयोग गर्ने बाथरुम र शौचालय एउटै भएकाले जोखिम भने छ ।’

यूएईले सुरुवाती दिनहरुमा संक्रमित व्यक्तिहरुको राष्ट्रियता खुलाए पनि पछिल्लो दिनहरुमा संक्रमितहरुको संख्या बढ्न थालेपछि राष्ट्रियता खुलाउनै गरेको छैन । तसर्थ अबुधाबीस्थित नेपाली दूतावाससँग यकिन तथ्याङ छैन । तर, पनि एनआरएनए यूएईले आफ्नो तरिकाले संक्रमित नेपालीहरुसँग सम्पर्क तथा समन्वय गरिरहेको संयोजक शेर्पाको भनाइ छ ।

एनआरएनए यूएईले संकलन गरेको तथ्याङ अनुसार हालसम्म यूएईमा १ सय ४९ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको उनले बताए । संक्रमितमध्ये ६ जनाले ज्यान गुमाएका छन् । संक्रमित नेपालीको तथ्याङ्क बारे आधिकारिक पुष्टी भने नभएको शेर्पाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *