अर्थमन्त्रीलाई छायाँ अर्थमन्त्रीको सुझाव : जेठमा सानो र साउनमा पूरक बजेट ल्याउन उपयुक्त

डिसी नेपाल
२९ वैशाख २०७७ १४:५४

काठमाडौं। नेपाली कांग्रेसले गठन गरेको छाया सरकारका अर्थमन्त्री समेत रहेका नेता डा.मिनेन्द्र रिजालले जेठ १५ मा सानो आकारको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्। सोमबार व्यवस्थापिका संसदमा बजेटको सिद्धान्त र प्राथमिकता सिद्दान्तको बारेमा बोल्दै उनले कोरोना भाइरसको संक्रमणले पार्ने असरबारे सबै तथ्यांक नआई पूर्ण बजेट ल्याउनु उपयुक्त नहुने बताए।

‘संविधानको प्रावधान अनुसार जेठ १५ गते बजेट ल्याउनैपर्ने बाध्यता छ’ रिजालले भने, ‘अहिले सानो आकारको बजेट ल्याएर साउनमा पूरक बजेट ल्याउदा उपयुक्त हुन्छ।’ अहिले कोरोनाले पुर्याएको क्षतिबारे सबै तथ्यांक नआइसकेकाले सबै विषयलाई समेट्नका लागि बजेट पर सार्नुपर्ने उनको भनाइ थियो।

यसैगरी डा. रिजालले चालु आर्थिक वर्षको ६ महिनासम्म पनि सरकारले राम्रो काम गर्न नसकेको र यसलाई ढाकछोप गर्न कोरोना बहाना मात्र भएको बताए। उनले विकास आयोजनाहरुमा जम्मा १९ प्रतिशत मात्र खर्च भएको उल्लेख गरे।

सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको तथा विभिन्न कोषका रकम तानेर मात्र लक्ष्य पुर्याएको रिजालले आरोप लगाए।  रेमिट्यान्समा कमी आएपछि उपभोग्य सामग्रीको मागमा कमी आएको र सो सँगै आयातमा कमी आएकोले भन्सार राजस्वमा कमी आएको उनले बताए। कोरोनाको कहरबाट माथि उठ्नको लागि राष्ट्रिय अठोटको आवश्यकता रहेकोमा रिजालले जोड दिए।

अर्थमन्त्री डा युजराज खतिवडाले बाह्य ऋणबाट बजेटको स्रोत परिपूर्ती गर्ने बताइरहेका बेला रिजालले त्यसमा सहमत नभएको बताए। ‘हामीले विदेशी ऋण लिनसक्ने ठाउँ देखेका छौं तर अहिले पनि हामी राजस्वको १० प्रतिशत रकम ऋणको किस्ता तिर्नको लागि नै खर्च गरिरहेका छौं, यसले हामीलाई कति धेरै असर गरिरहेको छ यसबारे पुनः सोच्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *