कथा: ढुंगा र लाठी

म साहित्यकार पनि थिइन् र पत्रकार पनि होइन। स्वभाव यायावरकै थियो। रोकिएको यात्रा थालेँ। आततायी युद्ध सुरु भएपछि खुम्चेर बस्नुपर्ने बाध्यताले आफंैसंग असहमति जनाउँदै रहेँ। जब बाहिर निस्कन सकिने वातावरण देखेँ, खुसीसाथ निस्केँ।

घुम्नुको कुनै लक्ष्य पनि थिएन,पुग्नुपर्ने ठाउँ किटान पनि थिएन। अत्यन्त निजी र सानो स्वार्थ थियो–मनको आरोग्य।

आततायीहरुले गाउँघर जहाँपनि ध्वंश बनाइसकेको हुनाले,आततायी क्रियाकलाप रोकिएपछि,र अझ तिनले प्रजातान्त्रिक प्रकियाभित्रै आफूलाई हुलेपछि नै म यसरी घुम्न निस्किएको थिएँ।

कसैले मलाई झोले भने, कसैले सुराकी पनि भने। विदेशी गुप्तचर पनि ठाने र लोकल फिरंगी पनि भने। जसले जे भनोस् त्यसले मलाई असर गर्दैनथ्यो र जे नहुँदा मलाई असर गथ्र्यो । ति मसंगै थिए– चश्मा र औषधि।

मेरो सारमा हिँड्ने मसंगै हुन्थ्यो। लामा फड्का मार्नेहरु उछिनेर जान्थे। मेरो यात्रामा अलि बढि नै हुन्थे, विसौनी र चौतारीहरु, अनि भावनामा समेटिएका हुन्थे भंज्याङ र फाँटहरु, ब्यासी र सघन वन प्रदेशहरु।

उकालीको काठको फलैंचामा पुगेँ। खुट्टा झुन्नाएर बसेँ। अर्कोतिरबाट कल्याङ कुलुङ गर्दै जनसमूह आयो। विद्यार्थीको समूह रहेछ। मेरो छेउमा आएर सबैले आ–आफ्ना पुस्त, कापी र झोलाहरु थपथप राखे र कुनै काम भ्याईहाल्ने हिसावले दुईपाइला उता लागे। म हेर्दै रहेँः

चौतारीको सामुन्ने एउटा कालो ठुटो (स्तम्भ) उभ्याइएको थियो। त्यसको फेदमा लोहोरे ढुंगा थुपारिएका थिए। विद्यार्थीहरु गएर तिनै ढुंगा टिपेर त्यो कालो खाँबोलाई हान्दै, फर्किँदै गरे। फेरि केही विद्यार्थी केटा अर्को छेउकोप्रस्तर प्रतिमातर्फ लागे। लाठी चलाए र फर्कंदै गए।

कार्य–कारणको सम्बन्ध मैले बुझिन“ ।त्यसैले सोधिहालेँ, सेवारो ! नानीहरुलाई यसबारे सोधौं है –त्यो ठुटोलाई ढुंगाले हानेर आउनुभयो नि किन होला ?फेरि तपाईहरुको एउटा समूह ढुंगाको प्रतिमातर्फ गयो। तपाईहरु चाँहि जानुभएन नि किन ?परम्परा के हो, सामाजिक मान्यता हो कि ?

‘यसको पछाडि एउटा कथा लुकेको छ। पीडाको कथा’ एउटी छात्राले भनिन्।

‘छोटकरीमा सुनौं न त मिल्छ?’

‘हुन्छ, म छोटोमा भन्छु।’ उसले कथा भन्ने तत्परता देखाई । उसका साथीहरु कथा सुन्न नजिक हुँदै गए।

‘यो कथा हाम्रो बाजे पुस्ताको हो। उनीहरुले गरेको चर्तिकलाको चित्र हो–यो कालो खम्बा र त्यो दुई मुखे स्ट्याच्यू। तर अपराधपूर्ण र मानवता विरोधी दुष्कर्मको फल जनताले दिएका हुन् यिनलाई।प्रामाण यही हो। प्रत्येक दिन ढुंगा र लाठीको प्रहार भोग्छन् यिनीहरु।’

‘अर्थात् ?’

‘मैंले सुनेअनुसार चण्ड र मुण्ड भन्ने दुई सैतान थिए रे पहिले । तिनैको अवतार हुन् रे यी आततायी नाइके। तिनका झोलेले आफ्ना गुरु, नेता, सदार मानेर तिनको मानका लागि यहाँ काठको दुईमुखे मूर्ति बनाएर चौतारीमा ठड्याएका थिए। विहानै आएर माला चढाएर सलाम गर्थे, मानौं, संसारमा यीभन्दा अग्लो वा महानअर्को छैन।’

अब अर्की छात्रा अगिसरेर थपी –अब म भन्छु है ! यो कुरा गाउँका मान्छेलाई पचेको थिएन ।डाँकालाई देउता वा पितृ मानेर पूजा गर्नुको कुनै औचित्य नदेखेपछि तिनको काष्ठ–प्रतिमामा आगो लगाइदिए–तेल छर्केर। त्यो दुई मुखे प्रतिमा डढेर बिग्रियो, नचिनिने भयो। तर फेरि डाकाको पूरा परम्परा कायम गर्न अर्को मूर्ति बनाए। त्यो चाँही ढुंगाको छ। तपाईहरुले देख्नु भएको छैनहोला, पर्तिर छ। हाम्रा साथीहरु त्यसलाई हिर्काएर आउँदैछन्। हामीचाँही थाकेर बस्यौं।

फेरि अर्की छात्राले उछिनेर भनी, ‘अघि हामीले ढुंगै ढुंगाले थिल्थिलो हुनेगरी हिर्काएको देख्नुभयो नि! त्यो हाम्रो आक्रोश थियो। स्कूलबाट फर्किदा प्रत्येक दिन त्यसैगरी हिर्काएर जान्छौं। अनि तिनले गरेको अपराध अकर्मको चर्चा गरेर हिँडछौं।’

यसपटक सानु विद्यार्थीले थोते वाणीमा भन्यो, –‘ढुंगाको मूर्ति पनि तिनै दस्पुको हो तर दुई मुखे छ। एउटा जेठो दस्युको मुख हो, अर्को सानु दस्युको। एउटै ढुंगामा दुईतिर फर्केका, दुईटा मुख छन् क्या दुईटा टाउका। केटा साथीहरु चाँहि त्यो ढुंगाको मूर्तिलाई लाठीले सकुन्जेल पिट्दा पिट्दा गलेर थाकेर फर्किन्छन्।’

मैले प्रश्न गरेँ, ‘लाठी कहाँबाट आउँछन् नि ?’

‘ए, जसरी जनै र खुकुरी हिजोआज चीनबाट आउँछ त्यसैगरी लाठी पनि आउँछन्। जति पनि लाठी पाइन्छन् त्यहाँ। यहाँ चाहिं हामी ढुंगा हानेरै आफ्नो रिस मार्छौ। केटाहरु चाँहि बेसरी लठ्ठीले चुटेर आफ्नो रिस पोखेर आउँछन्। ऊ उनीहरु पनि आईपुगे।’

मैले ती विद्यार्थीको हात हेरेँ। पाषाण प्रतिमालाई भन्दा विद्यार्थीको हातलाई नै दुःखेजस्तो लाग्यो। यथार्थमा पनि अब तिनलाई नदुख्ने भइसकेको छ।

विद्यार्थी भाइबहिनीहरुले आततायीले गरेका कुकर्मको लामो सूची बनाएका रहेछन्। गाइनेले गीतमा बाँधेर सारंगी रेटेजस्तै यिनले पनि गीतमा अपराधको, पापको आँशुमा बयान गरेको सुनेँ–

छोरा र छोरी पनि स्कूलबाटै…

राम्रा निरोगी तरुणी हराए…

पख पख मलाई पहिले गाउ दे, म गाइहाल्छु, नत्र विर्सन्छु क्या…।’

अर्कीले गाउन थाली, केटा साथीहरुले उसलाई साथ दिए। अब समूह स्वरमा एकसाथ गीत गुञ्जियो–

काटेर मारे र कुटेर मारे

गिडेर, छेडेर, चिरेर मारे

हानेर गोली र दिएर फाँसी

धराप थापेर सहस्र मारे

ती आततायी वनबाट आए

विधान कालो बनकै बनाए

सन्मार्गको चेत हुदै भएन

सत्ता भए पुग्दछ, सोँच छैन….

गीत सुन्न मलाई गाह्रो भयो। म मनको औषधि खोज्न हिँडेको मानुष अझ आहत भएझै लाग्यो। त्यसपछि भष्मको ठुटो र पाषण प्रतिमालाई त्यहाँका हरेक नागरिकाले ढुंगाले हिर्काउने र लाठीले चुट्ने गरेको देखेर यो दण्ड विधानले सामाजिक मान्यता पाउन थालेको विश्वास भयो। विद्यार्थीहरु खुसी भएर हिँडे। म पनि फलैंचाबाट उठें ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position