पूर्व राष्ट्रपति ओबामा र पूर्व उपराष्ट्रपति बिडेनलाई जेल हाल्न राष्ट्रपति ट्रम्पको माग

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति बाराक ओबामाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले ओबामाविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै पूर्वराष्ट्रपति बाराक ओबामा तथा पूर्वउपराष्ट्रपति जो बिडेनलाई जेल पठाउनुपर्ने बताएका छन् । उनले ओबामालाई अमेरिकाको इतिहासमै सबैभन्दा अनुपयुक्त राष्ट्रपति भएको टिप्पणी पनि गरे ।

फक्स बिजनेससँग कुरा गर्दै ट्रम्पले माइकल फ्लिनको मुद्दामा ओबामा र बिडन दोषी रहेको भन्दै जेल हाल्नुपर्ने बताएका हुन् । त्यसलगत्तै उनले ट्वीट गर्दै ओबामा प्रशासन भ्रष्ट भएकाले आफू निर्वाचित भएको बताए । ‘हाम्रो देशको इतिहासमा यो सबभन्दा ठूलो राजनीतिक अपराध थियो,’ ट्रम्पले ओबामा र बिडनका सम्बन्धमा बताए ।

‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे । म ५० वर्षको जेल सजायको कुरा गर्दैछु,’ उनले फक्स बिजनेसमा मारिया बार्टिरोमोसँग कुरा गर्दै भने । ‘हाम्रो देशको इतिहासमा यति ठूलो राजनीतिक घोटाला भयो । यसका लागि मानिसहरू जेल जानुपर्ने हुन्छ र आशा गरौं धेरै मानिसले यसको मूल्य चुकाउनेछन् ।’

एफबीआईले राष्ट्रिय सुरक्षा सल्लाहकारका विषयमा अनुसन्धान गर्न खोजिरहेको बिडन र ओबामालाई थाहा भएको अनि त्यतिखेरको प्रशासनले फ्लिनको पहिचान खोल्न अनुरोध गरेको बताइएको छ । जनरल फ्लिनविरुद्धको मुद्दा खारेज गरेकोलाई ट्रम्पले प्रशंसा गरे । उनीहरूविरुद्ध लागेको आरोपको व्यवस्थापन गरेकोमा फ्लिनलाई ट्रम्पले नायकको संज्ञा दिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो