एकोनले माग्यो बिद्यार्थीलाई राहत

डिसी नेपाल
१२ जेठ २०७७ २२:५७

काठमाडौं । एसोसियसन अफ इन्जिनियरिङ कलेजेज्, नेपाल (एकोन)ले इन्जिनियरिङ कलेजमा अध्ययनरत बिद्यार्थीलाई केन्द्रमा राखी कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समिति समक्ष राहतको लागि अनुरोध गरेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारणले विश्वमै ठूलो मानवीय क्षेती भएको र विश्वभर आर्थिक मन्दी छाउने भन्दै इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई राहत दिन सरकारलाई अनुरोध गरेको हो ।

‘हामी अहिले पनि पूर्वाधार बिकास र निर्माणको हिसाबले निकै पछि परेको छौं’ एकोनले भनेकाे छ, ‘कास खर्च गर्न नसक्दा लक्ष्यित आर्थिक उपलब्धिहरु हासिल हुन सकिरहेको छैन । लक्षित बिकास निर्माणको लागि संघ, प्रदेश र स्थानीय स्तरमा दक्ष प्राबिधिक जनशक्तिको ठुलो खांचो रहेको छ । ७ सय ५३ वटै स्थानीय निकायका एक वडा एक इन्जिनियरको अवधारणा नल्याइ गुणस्तरीय निर्माण सम्पन्न हुने देखिदैन।’

‘राहत प्याकेज घोषणा गर्दा राज्यलाई बिकास निर्माणमा उल्लेखनीय योगदान गरेको, नियमित रुपमा करोडौं कर तिरिरहेको इन्जिनियरिङ पठनपाठन गराई प्राविधिक इन्जिनियरहरु उत्पादन गर्ने भएकोले इन्जिनियरिङ कलेजहरुले लिने जुनसुकै कर्जाहरुलाई नेपाल राष्ट्र बैंक मार्फत प्राथमिकता प्राप्त कर्जामा बर्गिकरण गरी सोही अनुसारको सहुलियत सुबिधा दिनुपर्ने एकोनको माग रहेको छ ।

यस्तै, ‘अहिलेको स्थितिमा बिदेश गएर अध्ययन गर्ने बिद्यार्थीको भन्दा नेपालमा अध्ययन गर्ने बिद्यार्थीको गुणस्तर अत्यन्त राम्रो छ । बिदेशको तुलनामा नेपालमा अध्ययन गर्ने बिद्यार्थीहरुको शुल्क लगायत खर्च पनि झण्डै तीनगुनाले कम रहेको छ । यसले बिदेशी मुद्रा बाहिरिनबाट जोगाएको छ । यो कोभिड कहरको कारणले आम अभिभावकहरुको आर्थिक अवस्थामा पनि नकारात्मक असर परेको छ । तसर्थ, बिद्यार्थी सहुलियत कर्जाको ब्यबस्थापन गरी कलेजकै सिफारिसको आधारमा “प्राबिधिक इन्जिनियरिङ बिद्यार्थी शैक्षिक कर्जा”प्रवाह गरी सहज रुपमा अध्ययन गर्ने वातावरण निर्माण गर्नुपर्ने एकाेनकाे माग छ।’

अहिले नेपालमा त्रीभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्य पश्चिम र सुदुर पश्चिम विश्वविद्यालयबाट सिभिल, इलेक्ट्रीकल लगायत बिभिन्न इन्जिनियरिङ बिधामा आंगिक कलेज तर्फ ३ हजार १९२ (३०) प्रतिशत र सम्बन्धन प्राप्त कलेज तर्फ ७ हजार ५३७ (७०) प्रतिशत गरी बार्षिक कुल १० हजार ७ सय २९ बिद्यार्थीहरुको भर्ना क्षमता स्वीकृत भै पठनपाठन भैरहेको छ ।

सम्बन्धन प्राप्त ४३ वटा इन्जिनियरिङ कलेजहरुको भौतिक पूर्वाधारमा रहेको लगानी लगभग ३२ अर्बकाे हाराहारीमा छ भने लगभग १० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी शृजना गरेको अवस्था छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *