कसको हो यो ट्वीटर ? ‘महाराजधिराजले उजुर गर्न हुकुम बक्सेको छैन’

मदन कोइराला
१३ जेठ २०७७ ९:१४

काठमाडौं। नेपालको राजनीति र सामाजिक सञ्जालमा यतिबेला एउटा ट्वीटर हेण्डल निकै चर्चामा छ। जी शाहका नाममा खोलिएको सो ट्वीटर ह्याण्डल सञ्चालनमा आएको धेरै भएको छैन तर हजारौं त्यसका फलोअर्स छन्। जसपाका नेता डा.बाबुराम भट्टराईदेखि राप्रपाका नेता कमल थापासम्मले सो ट्वीटर ह्याण्डललाई फलो गरेका छन्। धेरै राजावादीहरुले जी शाहका नाममा गरिएका ट्वीटहरुलाई रिट्वीट गर्ने गरेको देखिएको छ।

विशेषत पूर्वराजा ज्ञानेन्द्र शाह केही महिनाअघि भारतको धेरै हदसम्मको गोप्य भ्रमण गरेर फर्केयता सो ट््वीटर ह्याण्डल निकै सक्रियतापूर्वक नेपालका राजनीतिक घटनाक्रमहरुमा टिप्पणी लेख्न थालेको देखिन्छ।

र, भारतको सत्तारुढ पक्षझैं सो ट्वीटरमार्फत नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारबिरुद्ध प्रहार गर्ने गरिएको छ। तर, प्रहार भारतीयहरुको जस्तो असभ्य भने छ्रैन। निकै उन्नतस्तरको भाषा प्रयोग गरिएको हुन्छ त्यसमा।

नेपालका राष्टिय चाडपर्वहरु र मुख्य अवसरहरुमा पहिलाको राजदरबारले दिएजसरी नै शुभकामना दिइएको हुन्छ। सोमबार बिहान मुसलमान समुदायको पवित्र पर्व ईद–उल–फित्रको अवसरमा मुस्लिम समुदायलाई ट्वीटरमार्फत शुभकामना दिइएको छ।

नेपाल–भारत–चीन वार्ताको माग

जी शाहका नाममा बैशाख २८ गते ट्वीट गर्दै लेखिएको छ, ‘निकटतम छिमेकी देशसँगको सीमा विवाद भनेको अत्यन्तै गम्भीर विषय हो । यसको समाधानका लागि सरकारका तर्फबाट म्यान–टु–म्यान कुटनीतिक पहल अनिवार्य छ । वक्तव्य वा डिजिटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल–भारत–चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ।’

यसरी प्रतिष्ठित व्यक्तिहरु ट्वीटरमा सक्रिय रहेका बेला पूर्वराजाको नामको ट्वीटर ह्याण्डल सक्रिय हुनु र त्यसमा पूर्वराजाकै जस्तो भान हुने गरी राजनैतिक विषयमा सभ्य, शिष्ट र ओजपूर्ण भाषामा ट्वीट हुनुले अनेकौं आशंका जन्माएको छ।

फेब्रुअरी २०२० मा सुरु गरेको पूर्व राजाको नामको सो ट्वीटरमा हालसम्म उनलाई ४३ हजार ३ सयले पछ्याएका छन्। जी शाहले भने ७१ जनालाईलाई फलो गरेका छन्।
रमाइलो त के छ भने पूर्वराजाको ट्वीटर ह्याण्डल भेरिफाइ भएको छैन।

डा. भट्टराई, कमल थापासहित नेपालका प्राय उच्चपदस्थहरुले फलो गरेको जी शाहको ट्वीटर फेक हो त? कि फेक ट्वीटर ह्याण्डलमार्फत पूर्वराजा सामाजिक सञ्जालमा सक्रिय भएका हुन्?

के भन्छ पूर्वराजाको सचिवालय

ट्वीटर ह्याण्डल पूर्वराजाले नचलाउने उनका स्वकीय सचिव फणिराज पाठकले डिसी नेपाललाई बताएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको नामबाट हुने ट्वीट पूर्व राजा शाहको नभएको पुष्टि गर्दै शाहका स्वकीय सचिव फणिराज पाठकले भने, ‘सरकारको ट्विटर र फेसबुक छैन। सरकारको नामबाट कसले चलाइरहेको छ थाहा छैन।’ यस विषयमा यसअघि पनि प्रश्न उठेको र आफूले पूर्वराजालाई यसबारे सोधेको बताउँदै पाठकले भने, ‘यो विषयमा सरकारलाई जानकारी गराएको थिएँ, उहाँबाट मेरो ट्वीटर र फेसबुक केही पनि छैन भन्ने हुकुम भएको छ।’

पूर्वराजाको नाममा चलिरहेको यो ट्वीटर ह्याण्डलको अर्को रोचक पक्ष हो यो ह्याण्डलले फलो गरिरहेका ट्वीटर ह्याण्डलहरु। जीबीबी शाह नामको यो ह्याण्डलले ७१ अन्य ह्याण्डलहरुलाई फलो गरिरहेको छ। तर, यी ७१ मध्ये ७० ह्याण्डल विदेशीका हुन्।

यो ट्वीटर ह्याण्डलले फलो गर्ने एकमात्र नेपालीको ट्वीटर ह्याण्डल भनेको मोहना अन्सारीको हो। मोहना अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त हुन्। यसबाहेक यो ह्याण्डलले अन्तर्राष्ट्रिय संघ संस्था, अन्तर्राष्ट्रिय मिडिया र विदेशी नेताहरुको ह्याण्डललाई फलो गरिरहेको छ तर, कुनै पनि नेपाली नेता र नेपाली मिडियालाई भने फलो गरेको छैन।

यो ह्याण्डलको प्रोफाइलमा वेबसाइट भने हिमानी ट्रष्टको राखिएको छ। यद्यपि हिमानी ट्रष्टको संचालक समितिमा पनि पूर्वराजा ज्ञानेन्द्र शाह छैनन्। हिमानी ट्रष्टकी संरक्षक पूर्वराजाकी पत्नी कोमल राज्यलक्ष्मीदेवी शाह हुन्। ट्रष्टकी अध्यक्ष हिमानी राज्यलक्ष्मी शाह, उपाध्यक्ष प्रेरणा राज्यलक्ष्मी सिंह, सदस्य सचिव रेश्मा राणा, कोषाध्यक्ष शीताश्मा राज्यलक्ष्मी शाह हुन्। यस्तै ट्रस्टका कार्यकारी सदस्यहरु पूजा राज्यलक्ष्मी शाह, दिलाशा राज्यलक्ष्मी राणा, अशोक सिंह जबरा र सुरज वैद्य हुन्।

किन गरिएन उजुरी ?

पूर्वराजाको नामबाट यत्रो ट्वीट संचालन हुँदासमेत सम्बन्धित निकायमा भने खबर गरिएको छैन। साइबर अपराध कम गर्न भन्दै नेपाल प्रहरीले छुट्टै साइबर व्यूरो गठन गरेको छ। तर, पूर्वराजाका तर्फबाट अहिलेसम्म त्यहाँ उजुरी दिइएको छैन।

पूर्व राजाका स्वकीय सचिव पाठकले आफूलाई पूर्व राजाले सम्बन्धित निकायमा खबर गर्नु नभनेसम्म उजुरी गर्न नमिल्ने बताउँदै पूर्व राजाको नामबाट कसले ट्वीटर चलाइरहेको भन्ने विषयमा व्यक्तिगत रुपमा आफूले खोजिरहेको बताए।

उता प्रहरीले पनि आफ्नो व्यक्तिगत फोटो राखेर कसैले दुरुपयोग गरेको छ भने सम्बन्धित व्यक्तिले आफ्नो पहिचान खुल्ने प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिएमात्र कारवाही गर्न सकिने बताएको छ। साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले कसैले फेक आइडी मात्रै बनाएको आधारमा मात्रै मुद्दा दर्ता हुन नसक्ने बताउँछन्।

‘कसैको नाममा फेसक आइडी बनाएकै भरमा मात्र मुद्दा दर्ता हुँदैन,’ एसएसपी अर्यालले डिसी नेपालसँग भने, ‘फेक आइडीबाट नचाहिने विषय पोस्ट भयो, कसैको मान प्रतिष्ठामा आँच आउने काम गर्यो भने सम्बन्धित व्यक्तिले उजुरी गर्नुपर्छ।’

पछिल्लो समय बौद्धिक जमातबीचमा ट्वीटर निकै लोकप्रिय बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महत्वपूर्ण सूचना र जानकारी ट्वीटरमार्फत नै दिने गरेका छन्। ट्रम्पले गर्ने कतिपय ट्वीट विवादस्पद पनि हुने गरेका छन्।

यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि ट्वीटरमा निकै सक्रिय रहन्छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीटर चलाउने गरेका छन्। यसरी प्रतिष्ठित व्यक्तिहरु ट्वीटरमा सक्रिय रहेका बेला पूर्वराजाको नामको ट्वीटर ह्याण्डल सक्रिय हुनु र त्यसमा पूर्वराजाकै जस्तो भान हुने गरी राजनैतिक विषयमा सभ्य, शिष्ट र ओजपूर्ण भाषामा ट्वीट हुनुले अनेकौं आशंका जन्माएको छ।

आफ्नो हैन भने किन पूर्वराजाले सो ट्वीटर ह्याण्डल बन्द गराउने पहल गर्दैनन्? आफ्नो फोटो दुरुपयोग भयो भनेर ट्वीटरलाई इमेलमात्र लेखे पनि त्यस्तो एकाउण्ट बन्द हुन सक्छ। वा, नेपालमै पनि साइवर कानूनले असली को हो तत्काल पत्ता लाग्न सक्छ। यसो गर्न पूर्वराजाको ‘हुकुम’ नहुनु कम महत्वपूर्ण भने छैन। के यो दरबारको राजनीति गर्ने नयाँ शैली हो?

केही महिनाअघिको भारत भ्रमणका क्रममा त्यहाँका ठूला नेता र अन्य विदेशी उच्चपदस्थहरुसँग समेत गोप्य राजनीतिक सम्बाद गरी भारतीय भूमिमा अर्को सहमती गरेर स्वदेश फर्किएको र राजावादी समूह त्यसयता केही न केही राजनीतिक परिवर्तन हुने आशामा क्रियाशील रहेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *