हङकङमा केएमई फाइनान्सले सञ्चालनमा ल्यायो रेमिटेन्स सेवा

डिसी नेपाल
१३ जेठ २०७७ १३:४८

काठमाडौँ । हङकङमा नेपाली व्यवसायीले सञ्चालन गरिरहेकाे केएमई फाइनान्सले रेमिटेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ । केएमई फाइनान्सले सिटी एक्सप्रेस र वेस्टर्न युनियनसँगको सहकार्यमा हङकङमा रेमिटेन्सको सुरुवात गरेको हो ।

जोर्डनस्थित कार्यालयमा सोमबार नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले पानस बालेर रेमिटेन्स सेवाको उद्घाटन गरेको फाइनान्सका एक सेयर होल्डर गोकर्ण ढकालले डिसी नेपाललाई बताए ।

हङकङमा कार्यरत नेपालीहरुलाई विप्रेषण पठाउन सजिलो होस भन्ने उद्देश्यले रेमिटेन्सको सुरुवात गरिएको ढकालको भनाइ छ । त्यस्तै हङकङबाट विश्वका कुनै पनि कुनामा छिटो, सजिलो र भरपर्दो तरिकाले रकम पठाउन अब सहज हुने उनले बताएका छन् ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमईको तर्फबाट निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार त्यसरी पठाएको रकम नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५ सय भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिनेछ । त्यस्तै नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न पनि सकिने ढकालले जानकारी गराए ।

त्यसैगरी विप्रेषण सेवा शुरु भएको अवसरमा नेपालमा पैसा पठाउँदा १ हप्ताको लागि कुनै पनि सेवाशुल्क लाग्ने छैन् । ढकालका अनुसार यो अवसर आगामी मे ३१ बाट सकिनेछ । छुटको अवधि सकिएपछि भने नेपालमा पैसा पठाउँदा न्युन्तम २५ हङकङ डलर सेवाशुल्क लाग्नेछ ।

फाइनान्सले वैधानिक रुपमै रेमिटेन्स सेवा सञ्चालनमा ल्याएपछि गैरकानुनी रुपमा हङकङबाट हुँदै आएको हुन्डीको कारोबार पनि अन्त्य हुने ढकालले बताए ।

जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४औं तलामा कार्यालय रहेको फाइनान्सले रेमिटेन्सका अन्य शाखा पनि सञ्चालन गर्ने जनाएको छ ।

नेपाली व्यवसायीले सञ्चालनमा ल्याएको फाइनान्सको गत वर्ष हङकङ भ्रमणमा रहेका अर्थमन्त्री डा‍. युवराज खतिवडाले उद्घाटन गरेका थिए । १ करोड हङकङ डलरबाट सुरुवात गरिएको केएमईको अध्यक्ष टीका गुरुङ रहेकी छन् । उनी एनआरएन हङकङकी अध्यक्ष पनि हुन् । सञ्चालक समितिमा गुरुङलगायत कृष्ण पाण्डे, कविता गुरुङ, जोना श्रेष्ठ र गोकर्ण ढकाल छन् । फाइनान्सले व्यक्तिगत कर्जा, आवास कर्जा तथा व्यापारिक कर्जा उपलब्ध गराउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *