उत्सव मनाउने दिनमा सामूहिक हत्याले लाेकतन्त्रकाे खिल्ली उडायाे : सांसद विशुन्के

डिसी नेपाल
१३ जेठ २०७७ १९:२८

काठमाडौं । प्रतिनिधिसभा सांसद पार्वती विशुन्केले संसदबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ पास भएको दिन जेठ १० गते सामूहिक हत्या भएको प्रति ध्यानाकर्षण भएको जनाएकी छन्। प्रतिनिधि सभाको आइतबारको वैठकमा बोल्दै विशुन्केले रुकुममा अन्तरजातीय प्रेमका कारण जाजरकोटी युवाको हत्या हुनुले देशमा आएको गणतन्त्रको खिल्ली उडाएको बताइन् ।

उनले भनिन्, ‘तत्कालिन व्यवस्थापिका संसदबाट जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ जेठ १० गते पास भएकै दिन, उत्सवको रुपमा मनाउनु पर्ने दिन जातकै कारण ६ जनाको सामुहिक हत्या गरियो।’

विशुन्केले तत्कालिन माओवादीले देखाएको समानाताको विपरित माओवादीको सुरुवात भएकै जिल्लामा जातका कारण ज्यान गुमाउनु दुर्भाग्य भएको जिकिर गरिन्। उनले भनिन्, ‘जहाँबाट उत्पीडनमा परेका वर्ग समुदायले अपनत्व गर्ने शासन सत्ता ल्याउनु पर्छ भनि सुनौला सपना वाडेर तत्कालिन माओवादी पार्टीले जनयुद्धको घोषण गरेको थियो । त्यो जनयुद्धमा शहिद भएको दलितको सपना यही थियो र ? सभामुख महोदय जातकै कारण मारिने?’

दशवर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा दलित समुदायको भुमिका स्मरण गराउँदे सांसद विशुन्केले भनिन्, ‘अन्तरजातिय प्रेम गर्नुको सजाय मारिनु हो, यो जत्तिको मानव सव्यताका लागि अमानवीयता र बर्बरता के हुन सक्छ ? हामीले कस्तो व्यवस्था ल्यायौं, हामीले रगत बगाउनुको उद्देश्य यो थिएन र होइन पनि, सरकार अब जनतालाई शास्त्र घोकाउने होइन कानून घाकाउ, शामन्तबाद घोकाउने होइन समाजवाद घाकाउ, बर्बता होइन, भातृत्व सृजना गर्न सिकाउ, मानव मार्ने होइन उसको जिउन पाउँने अधिकार छ भन्ने सिकाउ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *