लकडाउनको मोडालिटी परिवर्तन गरिँदै

डिसी नेपाल
१९ जेठ २०७७ ८:१०

काठमाडौं। सरकारले मंगलबारदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म थप गर्ने निर्णय गरेको थियो। लकडाउनको अवधि थप गरेपनि त्यसको स्वरुप परिवर्तन गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिइएको छ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवधि थप गरेपनि त्यसको मोडालिटीका विषयमा चाँडै छलफल गरेर सिफारिस गर्न उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

उच्चस्तरीय समितिले काठमाडौं बाहिरका खोजिम कम भएका जिल्लाका नागरिकलाई कसरी काठमाडौं भित्र्याउने, काठमाडौंभित्रका उद्योगधन्धा संचालनलगायतका विषयमा मोडालिटी तयार पारेर मन्त्रिपरिषदमा सिफारिस गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले केही समय अगाडि देशबासीका नाममा गरेको सम्वोधनमा पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएका थिए। सरकारले अत्यावश्यक सेवा बाहेक निश्चित नियम पालना गरी कामकाजमा जान दिने गरी मोडालिटी बनाउने तयारी भइरहेको छ।

उच्चस्तरीय समन्वय समितिले कोरोनोको सबैभन्दा बढी र सबैभन्दा कम जोखिम भएको स्थानको टुंगो लगाइ त्यही अनुसार उपत्यका बाहिरबाट नागरिकलाई उपत्यता भित्र्याउने कार्ययोजना बनाउने बताइएको छ।

सरकारले असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकाबन्द गर्ने निर्णय गरिसकेको छ। भारतसँग जोडिएका सीमा नाकामा सेना परिचालन गर्ने निर्णय गरेको सरकारले स्वदेशभित्र अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *