काठमाडौंमा कोरोना संक्रमितको उपचार, नुवाकोटमा त्रास !

डिसी नेपाल
१९ जेठ २०७७ १५:५५

नुवाकोट। काठमाडौ महानगरपालिकाले अस्पतालबाट निस्किएको कोरोना संक्रमितको फोहोर नुवाकोट ल्याउने गरेको भन्दै नुवाकोट बासीमा त्रास उत्पन्न भएको छ । लामो समय अगाडिदेखि नै काठमाडौंको फोहोर नुवाकोटको ककनी गाउँपालिकामा फालिने गरिएकोमा नुवाकोटवासीले आपत्ति जनाउँदै आएका थिए । अहिले कोरोनाको महामारीमा पनि काठमाडौबाट फोहोर ल्याउन नछोडिएको भन्दै नुवाकोट बासीमा चिन्ता बढेको हो ।

नुवाकोट ककनी–३ का विवेक ढुंगाना भन्छन् ‘स्थानीय सरकारले हाम्रो कुरा सुन्दैन । फोहोरको नाममा असुल्न पल्किएका उनीहरुलाई केही मतलब नै छैन । अब जुनसुकै हालतमा पनि फोहोर रोकिनु पर्छ ।’ लामो समय अगाडिबाट नुवाकोट बासीले फोहोरको बिषयलाई उठाउदै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको नुवाकोट शिवपुरी गाउपालिकाकी सागरी श्रेष्ठले बताइन् ।

उनले भनिन् ‘नुवाकोट बासीले धेरै पहिलेदेखि यो पहल गरेका हुन् । तर, सम्बन्धित निकायले बेवास्ता गरिरहेको छ । अस्पतालबाट ल्याएको फोहोरले हामी जोखिममा पर्छौ भने काठमाडौ महानगरपालिकाले उतै व्यबस्था गर्नुपर्दछ ।’ कोरोना महामारीमा मात्रै नभएर अन्य समयमा पनि नुवाकोटमा भित्राइएको फोहोरले स्थानीयको स्वास्थमा ठूलो असर गरेको विदुर–३ का शम्भु सिक्देल बताउँछन् ।

सिग्देलले भने ‘फोहोर फालिने ठाउँमा मेरा आफन्त छन् । त्यहाका नागरिकलाई यसअघि नै धेरै असर गरेको छ । अनेक प्रकारका रोगी देखिन्छन् ।’ सोही विषयमा आफूले सक्ने जति पहल गर्दा पनि केही नलागेको र उल्टै आफैलाई धम्की आएको ककनी–३ का वडाअध्यक्ष घननाथ बजगाइले बताए ।

उनले भने – ‘यो मेरो वडाका लागि गम्भीर बिषय हो । नागरिकको पनि यही माग भएपछि कुरा उठाउँदै पालिका, जिल्ला र महनगरसम्म पनि पुगें तर चासो कतैबाट आएन उल्टै मलाई काठमाडौ नगर प्रमुखले म नेपाल सरकारको सचिव हुँ, तपाईंलाई मुद्दा चलाउला भन्ने किसिमको धम्की दिनुभयो ।’

फोहरविसर्जन गर्दा स्थानीयको स्वास्थ्यमा असर नपार्ने गरी सम्झौता भएको भए पनि करिब ३०० को परीक्षण गरिएपछि भोलि आउँछौं भन्दै फर्किएको टोलीले कीट सकियो भन्नेजस्ता बाहाना बनाएर बेवास्ता गरेको वडाध्यक्ष बजगाइ बताउँछन् । ‘कोरोनाको महामारीमा पनि तीनसय जतिको टेस्ट गरिएपछि किट सकियो भन्दै गएको टोली फेरि आएनन्, स्थानीयले गुहार्ने त हामीलाई हो । तर, हामीलाई नै धम्की आएको छ ।’

वडाध्यक्ष बजगाइले भने ‘सरसर्ती हेर्ने हो भने ककनी १, २, ३ र धुनिबेसी १, ४ का नागरिक क्यान्सरले नै मरेको पाइन्छ । कारण महानगरबाट ल्याइने फोहोर नै हो । स्थानीयलाई बचाउनु पर्छ, यो बिषयमा माथिल्लो निकायको ध्यान छिट्टै जाओस ।’ नुवाकोटमा एकजनामा देखिएको कोरोना पनि फोहोरकै कारण सरेको भन्ने स्थानीयले विश्वास गरेको बताउँदै उनले भने ‘स्थानीय त्रसित हुनु त स्वभाविक नै हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *