आठ लाख ३१ हजार ९९४ पुनःनिर्माण लाभग्राही

डिसी नेपाल
२० जेठ २०७७ ७:४४

काठमाडौँ । सबै गुनासो सम्बोधनपछि कूल पुनःनिर्माण लाभग्राहीको सङ्ख्या आठ लाख ३१ हजार ९९४ पुगेको छ।

प्रबलीकरण लाभग्राहीको सङ्ख्या ७७ हजार २६४ पुगेको प्राधिकरणले जनाएको छ । यसमध्ये सात लाख ८२ हजार ६९५ पुनःनिर्माण लाभग्राहीले सम्झौता गरिसकेका छन् ।

तीमध्ये सात लाख ७६ हजार ८९८ ले पहिलो किस्ता लिएका छन् । यसैगरी कूल प्रबलीकरण लाभग्राहीमध्ये ४६ हजार ११९ ले सम्झौता गरेका छन् जसमा ४५ हजार ७४२ ले पहिलो किस्ता लिएको जनाइएको छ।

पुनःनिर्माण लाभग्राहीले निजी आवास पुनःनिर्माणका लागि तीन किस्तामा रु तीन लाख अनुदान पाउँछन् । पहिलो किस्तामा रु ५० हजार लिएर जग निर्माण गनुपर्छ।

प्राविधिकले प्रमाणीकरण गरेपछि दोस्रो किस्तामा रु एक लाख ५० हजार दिइन्छ । छानाको कामसमेत सकेपछि तेस्रो किस्ताको रु एक लाख दिने कार्यविधिमा व्यवस्था गरिएको छ।

प्रबलीकरण लाभग्राहीले आंशिक क्षतिग्रस्त घर प्रबलीकरण गर्न दुई किस्तामा रु एक लाख पाउँछन् । प्रबलीकरण लाभग्राहीलाई दुवै किस्तामा रु ५०/५० हजार अनुदान दिइन्छ ।

भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणका लागि अनुदान दिने व्यवस्था सरकारले गरेको हो।

प्राधिकरणले गरेको गुनासो सम्बोधनबाट चित्त नबुझेमा गुनासोकर्ताले पुनरावेदन समितिमा निवेदन दिन सक्नेछ।

उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा तीन सदस्यीय पुनरावेदन समितिको व्यवस्था पुनःनिर्माणसम्बन्धी ऐनमा गरिएको छ । पुनरावेदन समितिले त्यस्ता गुनसोकर्तालाई लाभग्राही हुने ठहर्एमा उनीहरु आवास अनुदान पाउन योग्य हुनेछन् ।

निजी आवास पुनःनिर्माणमा गुनासो सम्बोधन निकै चुनौतीपूर्ण रहे पनि सम्पन्न गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताउँछन् ।

“लाभग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवदेन दिन सक्नुहुनेछ”, उनले भने । आगामी आर्थिक वर्षमा पुनःनिर्माणको काम सक्ने सरकारले हालै सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *