लकडाउन खुकुलो पारेर जिल्लाभित्र आवागमन खोल्ने तयारी

डिसी नेपाल
२० जेठ २०७७ १३:४३

काठमाडौं । सरकारले लकडाउको अवधि जेठ मसान्तसम्मको लागि थप गरेको भए पनि यसको मोडालिटी भने अहिल्यैदेखि नै वरिवर्तन गर्न सक्ने संकेत गरेको छ । यसअघि लकडाउन थप गरिएको अवधिको आज अन्तिम दिन हो । यद्यपि लकडाउन थप गर्ने निर्णय मन्त्रिपरिषदले यअघि नै गरेको छ तर भोलिदेखि लागू हुने लकडाउन अर्को चरणको भएकोले यसलाई खुकुलो पार्ने तयारी गरिएको छ ।

आज कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बोलाइएको छ । यो छलफलमा समितिका रहेका मन्त्रालयहरूको राय, सुझाव लिइनेछ र त्यही राय सुझावको आधारमा लकडाउन कुन हदसम्म खुकुलो पार्ने भन्ने निर्णय हुनेछ । स्वास्थ्य मन्त्रालयले पनि लकडाउन कसरी खुकुलो पार्न सकिन्छ भन्नेबारे विशेषज्ञहरुसँग परामर्श गरिरहेको छ ।

लकडाउन लागू गरेको अढाइ महिना बितिसक्दा समेत यसको विकल्प नखोजी लगातार लकडाउनको अवधि थपिएको भन्दै विरोध हुन थालेको छ । देशैभरीबाट विरोधका आवाज उठ्न थालेपछि सरकार अहिले लकडाउन खुकुलो पार्नुपर्ने दबाबमा छ । यो दबाब हल्का पार्नको लागि मुख्य रुपमा जिल्लाभित्र आवागमन खोल्ने तयारी गरिएको जनाइएको छ । जिल्लाबाहिर जान भने प्रतिबन्ध कायमै रहनेछ ।

यसबाहेक सामाजिक दूरी कायम गर्दै उद्योगधन्दा, कलकारखाना, कार्यालय, पसल–व्यवसाय आदि खोल्न दिने विकल्पमा छलफल भइरहेको छ । तुलनात्मक रुपमा न्यून कर्मचारी राखेर भए पनि आर्थिक क्षेत्र चलायमान बनाउने तयारी गरिएको छ । सीमित संख्यामा मात्र कार्यालय वा व्यवसायस्थलमा उपस्थित रहेर व्यवसाय संचालन गर्न दिने तयारी छ । लकडाउन उल्लंघनका क्रम बढेको र खेतीपातीको सिजन पनि सुरु भएकोले अझै लकडाउनका कडाइ गर्दा प्रत्युत्पादक हुने भन्दै लकडाउनमा केही छुट दिने तयारी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *