यूकेबाट १ महिना विदामा आएका राजन फर्किन लकडाउन खुल्ने प्रतिक्षामा थिए तर साथीसाथीमै…

काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २८ बर्षीय राजन राईको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक केसी (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् ।

जेष्ठ १८ गते राती करिब सवा ९ बजेको समयमा छिमेकी खिले भनिने अमित घिमिरेको घरमा प्रतिवादी मध्येका प्रज्वल राई र राजन राईबीच सामान्य वादविवाद भएको र वादविवाद पश्चात मृतक राई आफ्नो घरतर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका प्रतिवादीहरुको समूहले बाँसको लाठीले अन्धाधुन्ध कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुले राजनलाई घाइते बनाई फरार रहेकोमा घाइतेका अन्य साथीहरुले थाहा पाई घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती सवा ११ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै घटनाको सम्बन्धमा अनुसन्धान तथा फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले जेष्ठ १९ गते साँझ ६ बजे इटहरी उपमहानगरपालिका–११ बाट तिनै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरेपछि तीनजनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो ।

घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभी फुटेजमा बाँसले हानेको दृश्य देखिन्छ । ६ जनाको समूहबीच झगडा भएको र जसमा छुट्याउने तीनजना देखिन्छन् । घटनामा संलग्न राजन राई, अनिल दाहाल र लक्ष्मण गुरुङ सँगै बसेर मापसे गरेका थिए । मापसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो । भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए ।

राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै म खिलेलाई कुटेजस्तो गर्छु, के गर्दोरहेछ जिस्काउँ न भनेर भनेको खुलेको छ । जिस्किँदा जिस्कदै उनीहरुबीच सामान्य विषयलाई ठूलो बनाइएको र त्यसपछि छुरा प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ । छुरा प्रहार हुनुभन्दा अगाडि अनिल, लक्ष्मण र खिलानाथले झडप हुन नदिन छुट्याउने प्रयास गरेपनि राजन माथि इटा प्रहार भएको थियो ।

गत फागुनमा मात्रै युकेबाट आएका राजनको लकडाउन अवधि सुरु भएको केही सातामै युके जाने भिसा थियो । तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए । तरहराका भीम राईका छोरा राजनसहित परिवार नै युकेमा बस्दै अएका थिए । फागुन अन्तिममा युकेबाट एक महिनाको विदामा आएका राजनको हत्यापछि अहिले परिवारजन विक्षिप्त बनेका छन् ।

घटनाका मुख्य नाइके भनिएका प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसी पहिल्यैदेखि लागूऔषध प्रयोगमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तरहराको एकता मार्गमा बस्दै आएका उनीहरुले नजिकैको खोलाछेउमा बाँसको फलैँचा बनाएर अगाडिदेखि नै बस्ने र लागूऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । आइतबार रातिको घटनामा राजनको समूह र प्रज्वलको समूहले सँगै मापसे नगरे पनि सामान्य बिषयमै उनको विभत्स हत्या भयो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो