कोरोनाको भयावह अवस्थाबारे प्रदेश सरकारको ध्यानाकर्षण

डिसी नेपाल
२० जेठ २०७७ १९:५५

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यरुले आज बसेको प्रदेशसभा बैठकमार्फत कर्णालीमा कोरोनाको भयावह अवस्थाबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोनाको सङ्क्रमणले कर्णाली भयावह अवस्थामा पुगेको बताउनुभयो । यो महामारीका कारण कर्णालीमा छोटो समयमै २६२ कोरोना सङ्क्रमित पुगेको र अझै बढ्ने अवस्थामा सङ्क्रमण फैलिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सभासद हिमबहादुर शाहीले कर्णाली सरकारले कोरोना भाइरससँग लड्ने रणकौशल बनाउन नसकेको टिप्पणी गरे । कोरोना नियन्त्रण तथा रोकथामको स्पष्ट बटमलाइन के हो भन्ने प्रश्न गर्दै उनले मानव जातिको परम शत्रुका रुपमा फैलिएको महामारीविरुद्ध लड्न र उच्च साहस बनाएर अघि बढ्न सरकारलाई सुझाए ।

अर्का सभासद पदमबहादुर रोकायले जुम्ला कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा सङ्क्रमित देखिएका र नदेखिएका नागरिकहरुलाई उचित व्यवस्थापन गर्न सरकारलाई सुझाए। सभासद अमरबहादुर थापाले भारतबाट आएका दैलेखका जनतालाई क्वारेन्टिनमा व्यवस्था गर्न एवं अवस्था बुझ्न खोज्दा सभामा दैलेखका दुईजना सांसदलाई आउन रोक लगाइनु गलत निर्णय भएको जिकिर गरे । उनले पनि कर्णालीमा कोरोनाको सङ्क्रमण डरलाग्दो तरिकाले बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गरे। त्यस्तै अर्का सभासद खड्क खत्रीले सरकारले सबैसँग समन्वय सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *