बाँच्ने थिए सुर्खेतका कोरोना संक्रमित युवा तर यसरी ‘११ औं मृतक’ बनाइयो

डिसी नेपाल
२३ जेठ २०७७ १०:११

काठमाडौं। सुर्खेतमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका युवकको परीक्षणमा त्रुटिका कारण ज्यान गएको देखिएको छ । उनी संक्रमित भएर पनि आरडिटी परीक्षणले उनलाई संक्रमित नभएको देखाएपछि उनी ढुक्कसँग बसेको र भित्रभित्रै उनको शरीरमा भाइरसको संक्रमण फैलिँदै गएको पाइएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय युवको कोरोनाबाट मृत्यु भएको थियो ।

उनी भारतबाट फर्किएका हुन् । नेपाल आएसँगै उनी १४ दिनसम्म नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमै उनको आरडिटी परीक्षण गरियो तर नतिजा नेगेटिभ आयो । आरडिटी नेगेटिभ आएका उनले १४ दिनको क्वारेन्टाइन बसाइ पनि पूरा गरे । क्वारेन्टाइन अवधि सकिएपछि उनलाई ‘स्पस्थ’ मानेर घर पठाइयो । उनी पनि आफू सुरक्षित रहेको ठानेर घर गए तर उनलाई संक्रमणले भित्रभित्रै खाइसकेको थियो ।

घर गएका उनलाई आधा रातमा एक्कासी असहज भयो । रातको करिब २ बजे सास फेर्न समस्या भएको बताएका उनको उपचार नपाएरै तत्कालै ज्यान गयो । मृत्युपछि बिहीबार उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो जहाँ उनी संक्रमित रहेको पुष्टि भयो । पुष्टिसँगै उनी नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने ‘११ औं मृतक’को रुपमा दर्ता भएका छन् । मृतकका आफन्तले परीक्षणमा लापरबाही गरिएका कारण मृत्यु भएको बताएका छन्।

परीक्षणमा लापरबाही भएको यो पहिलो घटना भने होइन । यसअघि दैलेखका एक युवको पनि कोरोनाबाट मृत्यु भइसकेको छ। ती युवकको पनि मृत्यु भएपछि मात्र पीसीआर परीक्षण गरिएको थियो। दुल्लुमा रहेको क्वारेन्टाइनमा बसेका ती युवकको पनि परीक्षण र उपचारमा गरिएको लापरबाहीबाट ज्यान गएको थियो। अहिले पनि कर्णालीमा अधिकांशलाई आरडीटी परीक्षण गरेर घर पठाउने गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *