विद्युतगृह सञ्चालन गर्न लिज फिर्ता

डिसी नेपाल
२३ जेठ २०७७ १६:५१

खलङ्गा । साना जलविद्युत् उपभोक्ता समिति जुम्लाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलाई विद्युतगृह सञ्चालन गर्न लिज फिर्ता गरेको छ । सो समितिले विद्युतगृह बाह्र वर्षदेखि सञ्चालन गर्दै आएको थियो ।

विसं २०४० मा निर्माण भएको सो विद्युतगृहलाई शुरुआती वर्षमा प्राधिकरण आफँैले सञ्चालन गरेको थियो ।

सरकारले लिजमा दिने निर्णयगरेसँगै जाल्फा हाइड्रो प्रालिले लिजमा लिएर विद्युत् सञ्चालन गरेको थियो । उसले पनि राम्रोसँग विद्युतगृहलाई सञ्चालन गर्न नसकेपछि २०६४ सालमा सञ्चालक समिति गठन गरेर साना जलविद्युत् उपभोक्ता समितिलाई जिम्मा दिएको समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

समितिले लिजमा लिएपछि पोखरी सुधारदेखि धेरै काम गरेको र भारतीय दूतावासको सहयोगमा रु दुई करोड ६६ लाख ७४ हजारको सहयोगमा दुईवटा नयाँ जेनेरेटरसमेत ल्याएको उनले जानकारी दिए ।

समितिको स्वामित्वमा रहेका सबै आर्थिक क्रियाकलाप केन्द्रलाई नै हस्तान्तरण गरेको र समिति अन्तर्गत काम गर्दै आएका २३ जना कर्मचारीलाई समेत व्यवस्थापन गरिदिनका लागि प्राधिकरणलाई अनुरोध गरिएको समितिले जनाएको छ ।

लिजमा लिएर बिजुली सञ्चालन गर्दा घाटा व्यहोर्नु परेको उनले गुनासो गरे। दुई हजार ९०० उपभोक्ताबाट प्रत्येक महिना झण्डै रु दुई लाख ५० हजार सङ्कलन हुनेगरे पनि २३ जना कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउँदा रु ३ लाख ५० हजार खर्च हुने गरेको थियो । अपुग रकम बिजुलीको लाइन बिक्रीबाट भएको आम्दानीले खर्च व्यवस्थापन हुने गरेको थियो । सो विद्युत्मा उपभोक्ताबाट भण्डै रु ४९ लाख सङ्कलन हुन बाँकी रहेको छ ।

अब प्राधिकरणलाई विवरण उपलब्ध गराइएको हुनाले उसैले रकम उठाउने भएको छ । लिज फिर्ता गरी केन्द्रले काम सञ्चालन अगाडि बढाएको केन्द्र प्रमुख गौरव पाण्डेले बताए।

उनका अनुसार २० वर्षपछि प्राधिकरणको उपस्थित भएकाले अबबाट यहाँका नागरिकले सस्तोमा बिजुली प्रयोग गर्न पाउने छन् । न्यूनतम रु ३० मासिक शुल्क लाग्ने प्राधिकरणले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *