ऐतिहासिक तथा पर्यटकीय गन्तव्यमा फलफूलका बिरुवा रोप्न सेनाले सहयोग गर्ने

डिसी नेपाल
२४ जेठ २०७७ १६:०९

पाल्पा । नेपाली सेनाले ‘एक सिपाही एक बिरुवा अभियान’ शुरु गरेको छ ।

विश्व वातावरण दिवस अवसर पारेर नेपाली सेना गोरखदल गण पाल्पाले शुक्रबारदेखि बिरुवा रोपेर सो अभियान शुरु गरेको हो ।

गणपति जनककुमार बस्नेतले तानसेनस्थित सेन माध्यमिक विद्यालय परिसरमा फलफूलको बिरुवा रोपेर सो अभियानको शुभारम्भ गरे। अभियानअन्तर्गत सेनाले विद्यालय परिसरमा धुपीसल्ला चार, कपुर १२, मसला चार, चिउरी दुई, सुन्तला चार, कागती चार, अम्बा चार, खल्ढुक चार र एग्रोगार्ड दुई बिरुण रोपेका छन् ।

सो अवसरमा गणपति बस्नेतले पाल्पाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यमा फलफूलका बिरुवा रोप्न माग आएमा सेनाले सहयोग गर्ने बताए । नेपाली सेनाले हरियाली बनाउने अभियानअन्तर्गत पाल्पाको मस्याम र श्रीनगर क्षेत्रमा पनि वृक्षरोपण गरेको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अधिकारीले विद्यालय क्षेत्रभित्र रोपिएका बिरुवा हुर्किँदा हरियाली बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

गोरखदलले गणभित्रको नर्सरीमा फलफूलका बिरुवा आफैँ उत्पादन गर्दै आएका छन् । कपुर एक हजार, तेजपात एक हजार, खल्डुक ५००, धुपी सल्ला, कपुर, मसला, चिउरी, सुन्तला, कागती, अम्बा र एग्रोगार्ड लगायतका महत्वपूर्ण फलफूल तथा जडीबुटीका बिरुवा नर्सरीमा उत्पादन गर्दै आएको गोरखदल गणले जनाएको छ ।

पाल्पाका ऐतिहासिक स्थल, अमरनारायण मन्दिर, भगतवी मन्दिर, भैरवस्थान र रानीमहल क्षेत्रको सरसफाइलगायतका काममा पनि अग्रसरता देखाएको गोरखदल गणले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *