हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाई-हाई विपत्तिमा कोही छैन दाजुभाइ’

डिसी नेपाल
२५ जेठ २०७७ १०:४६

चिप्लेढुङ्गा । पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ । त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा छिन् एक वृद्धा महिला । विगत १० वर्ष देखिको एउटै दिनचर्यासँगै बितिरहेको छ उनको दैनिकी ।

उमेरले ८२ वर्ष पुगेको बताउनुहुने उनी अरुको सहारामा हुर्केबढेकाले नाम पनि सहारा क्षेत्री रहेको बताइन् । “म जन्मेको एक महिनामा आमा बित्नुभयो रे, जसले भेट्यो उसले पाले । अरुको सहाराबाटै हुर्कंदै गएँ । मलाई सहारा दिने आमाको मामाकी छोरीले १६ वर्षमा घर बनाउने काम गर्ने एउटा मान्छेसँग बिहे गरिदिइन् । उसको घर काठमाडौँको छेउ पर्छ रे तर, श्रीमान्ले कहिल्यै घर लगेनन् । घरमा सौता छोराछोरी पनि छन् रे । मलाई यता (पोखरा) ल्याए, दशकअघि बूढा पनि मरे, चार छोराछोरीले आफ्नै सुर गरे ।”

आगोको भुङ्ग्रोमा दाउरा झोस्दै क्षेत्रीले भनिन्, “भाग्यले ठगेकाहरुलाई सधैँ दुःख मात्र लेखेको हुन्छ, कर्म गरेर पनि कहाँ सुख मिल्छ र नानी, पाखुराले साथ दिएसम्म दुःख गरेर खान्छु, नसक्ने दिन ईश्वरको भर ।” जीवनसँग निराश भए पनि बाँच्नुको विकल्पमा परिश्रमसँग जोडिएकी क्षेत्री छोराछोरीका बारेमा केही बोल्न चाहेनन् ।

निकै भारी मन गर्दै उनले भनिन्, “छोराछोरीको कुरै नगर, जन्माएँ, दुःखले हुर्काएँ, अहिले कसैले हेर्दैनन्, बिरामी भएर अस्पताल भर्ना हुँदा पनि कसैले फोन उठाएनन् । दुई छोरा, दुई छोरी जन्माएँ, कोही नारायणघाट छन् कोही हेटौँडा होलान् कुन्नि, बिरामी हुँदा वास्ता नगर्ने सन्तानलाई जन्माएकी हुँ भनेर किन सम्झनु ?” ‘मनको पीडा कसलाई सुनाउनु, आफ्नो पीडा आफैँसँग छ’ भन्दै उनले एक गाँस खानाका लागि बिहानदेखि बेलुकासम्म तातो भुङ्ग्रोमा पसिना बगाउनुपरेको सुनाइन् ।

पोखराको घारिपाटन कृष्णमन्दिर छेऊको एक घरमा दुई हजार ५०० कोठाभाडा तिरेर बस्दै आएकी क्षेत्रीले अरुले मकै र दाउरा ल्याइदिने एकै ठाउँमा बसेर बेच्ने गरेको बताइन्। “मकै कहिले १३/१४ रुपैयाँमा ल्याइदिन्छन् । पोलेर ४० रुपैयाँमा बेच्छु, दाउरा पनि एउटा बाबुले ल्याइदिन्छ, सबैलाई गुहार माग्दै चलाएकी छु ।

दिनको २५/३० मकै बेच्छु, कहिले त बिक्दैन, भाडा तिर्न गाह्रो भएको छ ।” क्षेत्रीले रक्तचापको समस्या भएकाले सरसापट गरेर दुई दिनअघि मात्रै एक हजार ३०० रुपैयाँ को औषधि किनेर खाइरहेको बताइन्। हप्ताको एक दिन चर्चमा गएर दिन बिताउने गरेको सुनाउँदै भनिन्, “सम्पत्तिमा सबैको हाई–हाई विपत्ति कोही छैन दाजुभाइ ।” बाटोमा सधैँ मकै बेचिरहेको देख्दा सम्भव भएसम्म मकै खरिद गरिदिने गरेको काँग्रेस नेतृ सरस्वती गुरुङले बताइन् ।

“यो बाटोमा सधैँ आमाले मकै पोलेको देख्छु । समय मिलेसम्म धेरथोर पोलेका र काँचो मकै किनेर लाने गर्छु ।” बूढेसकालमा छोराछोरी आफन्तको साथमा रमाएर बिताउनुपर्ने समय आगोमा पसिना बगाउँदै सङ्घर्ष गरेकी आमाको दुःखले मन बिझाउने गरेको गुरुङले बताइन् । घारीपाटनका गणेश थापाले बूढेसकालमा पनि दुःख गरेर कसैको सहाराबिना परिश्रम गरेर बाँचिरहेको बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *