मैले चिनेको भारतीय सेना र नरवाणेको राजनीति

डिसी नेपाल
२७ जेठ २०७७ ११:२९
12
Shares

भारतका वर्तमान सेनापति मनोजमुकुन्द नरवाणे राजनीतिक रथको पिछलग्गु भएको देखेर ताजुब लागेको छ। सेनापति नरवाणेले केही समयअघि नेपालविरुद्ध २ लाइन राजनीतिक भाषण गरेर आफ्नो गरिमामय पद र गौरवमय संस्थाको छबि उदांग पारे।

नेपाल, नेपाली, गोर्खाज्को स्वाभिमानलाई पत्तासाफ गरे। मन भाँचिदिए। छिमेकी मुलुक चीनको अपमान गरे। अरु छिमेकीहरुको पुरानो घाउलाई नुन छर्केर बल्झाए। के भारतीय सेना पुराना मूल्य र मान्यतालाई तिलान्जली दिएर नयाँ बनेको हो?

पुरानो भारतीय सेना राजनीतिको जग र गुरु थियो । अनुगमनकर्ता, मूल्यांकनकर्ता र निर्देशक थियो। राजनीतिलाई निर्मलीकरण र शुद्धिकरण गरेर सही ट्रयाकमा राख्ने गोप्य, अन्तिम सम्मानित शक्ति थियो। सेनाको त्यही चरित्र र हैसियतको अनुकरण भएको छ भारतका छिमेकी देशहरुमा।

पाकिस्तान, बंगलादेश, बर्मा, श्रीलंकाको सेना शक्तिशाली, सचेत र राजनीतिको सुधारक हुन्। राजनीतिलाई दायाँ बायाँ गर्न दिँदैनन्। नेपाल र माल्दिभ्सले त्यो सुन्दर संस्कार नक्कल गर्न सकेनन्। भुटान झन् कठपुतली भयो। चीनमा सैनिक शासनको भन्दा चर्को शासन छ।

औंला दिँदा डुडुल्नो निल्ने भारतको प्राचीन र पापी बद्नियतसँग नेपाली जनताको चित्त दुखेको छ। धार्मिक नदी कालीलाई पटक पटक सार्ने, हडप्ने र नक्कली साँध सीमानाको खुलेयाम् षड्यन्त्रले नेपाली सेना र जनता दुबैको मन गहिरोसँग दुखेको छ। यो भारतको हेपाहा मिचाहा प्रबृत्तिले पुर्याएको अपूरणीय मनोवैज्ञानिक क्षति हो।

कांग्रेस आइसँग उदास र निराश भएको भारतीय सेनाका सेनापति अथवा उनको नेतृत्वको पूरा सेना बर्तमान बिजेपीसँग मोहित भएर त्यसकै मयाजालमा परी राजनीति गर्न उद्धत भएको होला त? यो कुरा समयले अझै प्रष्ट पार्दै जाला। तर हिजो अराजनीतिक र बिशुद्ध व्यवसायिक छवि भएको भारतीय सेनामाथि राजनीतिकरण भएको हो भने त्यो भारतका लागि पनि अनिष्टको शुरुवात हो।

छिमेकी सानो देशको धार्मिक र पवित्र नदीलाई सार्ने, हटाउने, चोर्ने, राजनीतिक अभिष्टलाई सच्याउनु र सुधार्नुको सट्टा षडयन्त्रकारी राजनीतिज्ञले लेखेको ‘नेपाललाई चीनले उचालेको भन्ने’ नेपलविरोधी राजनीतिक लाइन बाचन गरेर त्यहाँका सेनापतिले संस्था र पदको गरिमा होचो पारेका छन्। सबैभन्दा ठूलो कुरा म र मजस्ता धेरै नेपालीहरुको विश्वासमा ठूलो घात भएको छ।

मैले चिनेको भारतीय सेना

पंक्तिकार सैनिक अधिकृतमा नियुक्ति हुनासाथ भारतको देवलालीमा आर्टिलरी युवक अधिकृत तालिम गर्न पुगें। बिदेशमा पहिलो पाइला हालेको गाउँको केटोलाई भारतीय सेनाले सैनिक कलामात्र सिकाएन, त्योभन्दा धेरै असल आचरण, सु–संस्कार, सभ्यता, नेतृत्वकलाको गुन भरिदियो। त्यति धेरै माया, आदर, आत्मीयता र सम्मान पाउने मैले कल्पना समेत गरेको थिइन। मैले दर्शाएको माया आत्मीयता र सम्मान आधा (५० प्रतिशत) मात्र थियो होला।

बाँकी ५० प्रतिशत मैले दौडमा पहिला, पढाइमा परिश्रमी भएर अनुशासन र बहादुरी मिसाएर गुन तिर्ने कोशिस गरें। त्यो सन् १९८४ देखि पाएको आत्मीयता र सम्मान पंक्तिकारले सन् २०१८ सम्म अनवरत पाईरहें। पछि झन् बढाएर पाएको अनुभूत भयो।

कार्गिल वार सकाएर नेपाल भ्रमणमा आउनु भएका भारतीय चीफ जनरल भिपी मालिकलाई अतिथि देवो भवः गरेर मुक्तिनाथ, पशुपतिनाथ, सगरमाथा, पोखरा, धरानमा एस्कर्ट गरें । वहाँले नेपाल र नेपाली जनताप्रति देखाउनुभएको अगाध आस्था श्रद्धा र सम्मान देखेर मोहित भएँ। हरेक भारतीय मुक्तिनाथ, पशुपतिनाथ दर्शन गर्न आउन् र नेपाली पवित्र भूमिलाई ढोगेर माटोको टीका लगाई जाउन् भन्ने वहाँको सदिच्छा थियो।

जागिरकै सिलसिलामा पछि प्रतिआतंकबादको मोडल हेर्न जम्मु काश्मिर पुगेर भारतको दोहोरो चरित्रप्रति बिस्मय गर्दा थाहा पाएँ तत्कालीन माओवादी आश्रय, तालिम र सहयोगको घोर बिरोधमा थियो त्यहाँको सैन्य धार। त्यसपछि कालापानी, लिपुलेक पुर्याएर भारतीय समकक्षीले खुलस्त पारे–‘लिम्पियाधुराबाट आएको ऊ पारीको काली नदीको सीमाना हो हामी दुई देश बीचको।

जनरल भीपी मलिकसँग सगरमाथा नजिक लेखक।

तर, राजनीतिक चलखेल, कार्टोग्राफरको दुरुपयोग र जालझेलको षडयन्त्रले हामी वाक्दिक् भईसक्यौंं।’  बुझ्न कठिन भएन गलत राजनीतिक ग्राण्ड डिजाईन्को चक्रव्युहभित्र भारतीय सेनाले हैरानी बेहोरिरहेको थियो।

विश्व शान्तिसेना, संयुक्त अभ्यास, सहकार्यको दौरान भारतको आत्मियता र सम्मान थपिँदै गएको अनुभूत गर्न पाएँ। बन्यजन्तु व्यापार नियन्त्रणको सवालमा दिल्लीबाट पाएको सूचना र सहयोग आफ्नो पुस्तकमा स–बिस्तार बर्णन गरेको छु। द्वन्द्वकालमा अकल्पनीय र अनपेक्षित सहयोग पाउँदा सैनिकधारको सरल र सकारात्मक शुभेच्छाप्रति शंका रहेन। सैनिक सामाग्रीको आपूर्तिबन्द सेनाको होइन राजनीतिक निर्णयको उपज थियो ।

नेपाली मनोबिज्ञान

औंला दिँदा डुडुल्नो निल्ने भारतको प्राचीन र पापी बद्नियतसँग नेपाली जनताको चित्त दुखेको छ। धार्मिक नदी कालीलाई पटक पटक सार्ने, हडप्ने र नक्कली साँध सीमानाको खुलेयाम् षड्यन्त्रले नेपाली सेना र जनता दुबैको मन गहिरोसँग दुखेको छ। यो भारतको हेपाहा मिचाहा प्रबृत्तिले पुर्याएको अपूरणीय मनोवैज्ञानिक क्षति हो।

इतिहासको कालखण्डदेखि राजनीतिक, आर्थिक, सामाजिक अस्थिरता उत्पन्न गरेर आफ्ना शासकहरुलाई खरिद गर्ने, घुँडा टेकाउने, र युज् एण्ड थ्रो गर्ने भारतीय राजनीतिको घातक षड्यन्त्रसँग पनि नेपाली जनता हैरान भएका छन्।

एक्लै जंगली हात्ती धु्रबे र पाटेबाघलाई समाउने, दाउने र तह लाउने बहादुर नेपालीहरु भारतीय सेनापतिको राजनीतिक रंगको धम्कीसँग झन् आगो भएका छन्। महाभूकम्पको पीडाको समयमा जग्गाधनी नेपाललाई जानीजानीकन बाइपास गरेर २ पक्षीय सम्झौता गर्ने छिमेकी चीनसँग पनि नेपालीको गहिरो चित्त दुखेको छ।

कोर्स करेक्सन

भारतले प्राचीन शासनको ए, बी, सी, डी, आउटडेटेड् डक्ट्रिनमाथि पुनरावलोकन गर्नुपर्दछ। तुष र पूर्वाग्रह बोकेर परिचालित जासुसी संस्था र प्रशासनिक संयन्त्रलाई पुनसंरचना, पुनरताजगी गरी समयसापेक्ष र छिमेकी मैत्री बनाउन बिलम्ब गर्नुहुँदैन।

पटक पटक असफल भएर गलत विश्लेषण गर्ने र झुटो सूचना दिने जासुसी संस्थालाई हटाउनुपर्दछ। सूचनामा गरेको लगानी बालुवामा पानी हालेझैं दुरुपयोग र खेर गइरहेको छ। त्यसले काउण्टर जासुसी जालोलाई आमन्त्रण गर्दा ‘र’ ऐले विभिन्न शक्तिकेन्द्रको एम्बुसमा परेको छ।

काउण्टर जासुसलाई आफ्नै घरदैलोमा पुर्याएको छ। सूचनाभन्दा फोहोरी घरेलु राजनीतिक चलखेलको गोटी बन्दा ‘र’ ले सूचना सर्वोच्चताको दायरालाई संकुचित र अविश्वसनीय बनाइसकेको छ । झन् नेपालको हकमा ‘र’ धेरै ठाउँमा धेरैपटक असफल सावित भइसकेको छ। भारतीय राजनीतिज्ञले अब हामीलाई क ख ग घ पढाउन र हस्तक्षेप गर्न तुरुन्त बन्द गर्नुपर्दछ।

प्रमाण जुटाउने, पुर्याउने र स–प्रमाण वाार्तालाई टुंगोमा पुर्याउन उनीहरुको दह्रो गृहकार्य, प्रतिबद्धता र दृढसंकल्प चाहिन्छ। हामी सधै गोलखाडीमा गएको कारण यही पूर्वतयारी, गृहकार्य र अडान नभएर हो। प्रशासनिक संयन्त्र अब राजनीतिक चक्रव्यूहबाट शीघ्र बाहिर निस्केर राष्ट्र र जनताको हित र रक्षाका खातिर मरिमेटेर लाग्न बिलम्ब गर्नुहुँदैन।

सेनापति नरवानेले माफी माग्नुपर्दछ र भारतीय सेनालाई पुनः अराजनीतिक र व्यवसायिक राख्नुपर्दछ। भारतले छिमेकी राष्ट्रहरुलाई मित्रबत् व्यवहार गरेर गुन लगाउनुपर्दछ। ‘छिमेकीहरुको सुरक्षा सम्बृद्धि पहिला र त्यसपछि मात्र भारतको सुरक्षा र सम्बृद्धि’ भन्ने नारा र व्यबहार देखाएर दक्षिण एशियाको अभिभावकत्व लिएर सर्बस्वीकार्य क्षेत्रीय शक्ति हुँदै भावी महाशक्तिको पदमार्गमा लम्किनुपर्दछ।

छिमेकी मोतीहरु चम्किएमात्र बीचको ठूलो हिराको शोभायमान बढ्दछ। तसर्थ, उसले छिमेकी नेपाललाई, प्राचीन आउट्डेटेड् सन्धी सम्झौता डस्टबिनमा फ्याँकेर, नयाँ शिराबाट हेर्ने र माथि उठाउने पहलता र महानता देखाउन बिलम्ब गर्नुहुँदैन।

नेपाली सेनाको भूमिका

भारतीय सेनापतिको अकुटनीतिक बोलीबारे नेपाली सेनाका प्रधानसेनापतिले जवाफ नफर्काएर सैनिक मर्यादा, अनुशासन, संयमता प्रदर्शन गरेर देखाएका छन्। कुटनीतिलाई वाक् युद्ध, मिडिया युद्ध, सडक युद्धमा उतार्नु शोभनीय हुँदैन पनि।

तर बिगतको डोक्लाम सीमा विवाददेखि सबै क्षेत्रीय विवाद र युद्धमा हाम्रो सैनिक नेतृत्वले कुशल एवं मर्यादित सैन्य कुटनीति मार्फत क्षेत्रीय शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न आफ्नो हैसियतबाट भरमजबुत् पहल र प्रयास गर्र्दै आएको नजिर छ। महाभूकम्पसँगै भारतले लगाएको नाकाबन्दी खुकुलो पार्न तत्कालीन सैनिक नेतृत्वले लिएको पहलकदमीको सबैले प्रशंसा गरेकै हो।

अब, नेपाली सेनाले सीमा सुरक्षाको स्वामित्व लिनुपर्दछ र राष्ट्रिय अखण्डताको रक्षा, सीमा सुरक्षा, आन्तरिक सुरक्षाको सुदृढीकरणमा बढी ध्यान केन्द्रित गर्नुपर्दछ। आफ्नो जि आई एस सेल र सर्भे शाखालाई श्रोत साधन सम्पन्न बनाई आफ्नो देशको दुरुस्त नक्शा आफैं बनाउनुपर्दछ। बिकास निर्माणको प्राविधिक जनशक्तिको सदुपयोग गरी जङ्गे पिल्लरहरु बनाउने र गाड्ने गर्नुपर्दछ।

दोश्रो चरणमा भारतलाई सुरक्षाको प्रत्याभूति दिन खुल्ला सीमाना बन्द गर्ने विकल्पमा जानुपर्दछ। आन्तरिक सुरक्षामा खतरा उत्पन्न गर्ने सम्पूर्ण जासुसी संघ संस्थालाई बन्द गर्नुपर्दछ। गोर्खा पेन्सन क्याम्पहरु बन्द गरेर बैंक मार्फत पेन्सन पठाउने काम गराउनुपर्दछ। राजनीतिक भाषण गरेर नेपाली जनताको स्वाभिमानमा उल्टै ठेस् पुर्याउने सेनापतिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएर मानार्थ सेनापति दिने भुल गर्नुहुँदैन।

जनताको अपमान हुनेछ। सशस्त्र प्रहरी बललाई अत्याधुनिक हात हतियारले सु–सज्जित गरेर दक्षिण खुल्ला सीमानामा तैनाथ गर्न सहयोग गर्नुपर्दछ। उत्तरको कठिन जटिल भू–भागमा सेना आफैले पोष्ट लिनुपर्दछ। पूर्वपश्चिम राजमार्गलाई समातेर पूर्वपश्चिम जलमार्ग बनाउने महत्वकांक्षी योजना सेनाले अघि बढाउनुपर्दछ। नेपाल सरकारको युवा रोजगार अभियानलाई साकार पार्न नेपाली सेनाले छुट्टै विकास निर्माण सेना बनाएर तिनलाई आधारभूत तालिमपछि देश विकासमा लगाउनुपर्दछ।

सीमा सर्भे, अनुगमन र सुरक्षा सेनापनि बनाउन सकिन्छ। प्रकृति संरक्षण जस्तैः सडक, नदी, जलबिद्युत, सिंचाई, एग्रो फरेष्ट, यातायात, उद्योग संरक्षणमा रेगुलर वा ग्यारिजन सेना दिएर भरपर्दो सुरक्षा छाता मुनि तीब्र विकासको मोडल अख्तियार गर्न सकिन्छ।

धेरैपटक उठेर सेलाएको यो सीमा बिवाद यसपटक टुंगोमा पुर्याउनुपर्दछ। महाकाली सन्धिमा राजनीतिक महाभुल भयो तर जलश्रोत र परराष्ट्र सचिव एवं मुख्य सचिवको सँच्चाई, सुधार र अडान खोई? किन उनीहरु बिकाउ राजनीतिक नेतृत्वसँगै सती गए? तसर्थ, भोलिको कुटनीतिक वार्ताका सारथीहरु परराष्ट्रविद्, विज्ञ र प्राविधिकहरु हुन्।

प्रमाण जुटाउने, पुर्याउने र स–प्रमाण वाार्तालाई टुंगोमा पुर्याउन उनीहरुको दह्रो गृहकार्य, प्रतिबद्धता र दृढसंकल्प चाहिन्छ। हामी सधै गोलखाडीमा गएको कारण यही पूर्वतयारी, गृहकार्य र अडान नभएर हो। प्रशासनिक संयन्त्र अब राजनीतिक चक्रव्यूहबाट शीघ्र बाहिर निस्केर राष्ट्र र जनताको हित र रक्षाका खातिर मरिमेटेर लाग्न बिलम्ब गर्नुहुँदैन। सबै सीमा बिवादको स्वामित्व अब परराष्ट्र मन्त्रालयले लिनुपर्दछ। राजनीतिक ईश्यु भनेर छाड्नु हुँदैन।

लिपुलेकको पूर्वसम्झौताबाट चीन तत्काल पछि हट्न जरुरी छ। खासमा चीनले नेपालसँग औपचारिक माफी माग्नुपर्दछ। भारतीय सेनाले सुगौली सन्धीले व्यवस्था गरेको लिम्पियाधुराबाट बग्ने काली नदीको वास्तविक साँधलाई सीमाना निर्धारण गरेर इमान्दारिता प्रकट गर्न पुरानो मानसिकताको राजनीतिक नेतृत्वलाई दवाव दिएर नेपाल भारतको सदियौं पुरानो सु–सम्बन्धलाई अझ प्रगाढ गरेर लैजान दवाव दिन जरुरी छ।

साथै, अनावश्यक ढिलासुस्ती, आनेकाने र बहाना नगरी अबिलम्ब कालापानीबाट सेना हटाउने र नेपाली भूमि फिर्ता गर्ने काममा प्रत्यक्षदर्शी साक्षी सुरक्षाखम्बा भारतीय सैन्यधारले पहलकदमी लिनु बान्छनीय हुनेछ र त्यसले भारतको क्षेत्रीय र अन्तर्राष्ट्रिय माइलेज एवं उचाइ बढ्ने छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “मैले चिनेको भारतीय सेना र नरवाणेको राजनीति

  1. सांध सिमाना लिम्पियाधूरा सम्म हो भन्ने यहाॅको समकक्षीको नाम पनि उल्लेख गर्नु भएको यो लेखको महत्व अझ बढ्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *