जागिरबाट निकालिएपछि खान नपाउने पिरले अस्ताए आउजी !

तर्कबहादुर थापा
२७ जेठ २०७७ १४:०३

काठमाडौंं। अछामको साँफेबगर नगरपालिका–६ का सिदार्थ आउजीले आत्मदाह गरे। वयलपाटा अस्पतालले कामबाट निकालेको पत्र थमाएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भयो, चिन्ताले चितामा पु-यायो।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ नीति अनुरुप ‘कोही भोकै भए सरकारलाई भन्नु’ भनि दिएको आदेशको  केही  दिनमै भोकै मर्ने चिन्ताले आउजीलाई चितामा पु-यायो। विश्व खाद्य स्वच्छता दिवको अवसरमा जेठ २५ गते दिएको शुभकामना सन्दैशमा प्रधानमन्त्रीले भनेका छन्, ‘यदा कदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धीत निकायसम्म खबर पु-याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु।’

भारतको भर पर्नु पर्ने सुदुरपश्चिमका नागरिकको बाध्यता हो। सिदार्थ पनि भारतमै थिए। चार वर्ष अघि भारतको मुम्बइबाट गृह जिल्ला आएका उनी विगत १ वर्षदेखि वयलपाटा अस्पतालको कार्यालय सहयोगीका रुपमा काम गरिरहेका थिए।

७ महिनाकी छोरी अस्पतालमा गर्ने कार्यालय सहयागीको सेवा सुविधाबाट हुर्काउँदै थिए। करारमा काम गर्न थालेका आउजीको श्रीमती र परिवार खुसी थिए। तर, जेठ १२ गते उनलाई भगवानले निम्ता पठाए छन्, जुन दिन अस्पतालले उनीसहित ११ जनाको हातमा अवकास पत्र थमायो।

उनी मात्र हैनन् जेठ १५ गते थप २२ जना जागिरबाट निकालिएका थिए। दातृ निकाएको सहयोगबाट चलेको वयलपाटा अस्पतालले जागिरबाट निकाल्ने बाहेक सबै काम राम्रै गर्दै आएको स्थानीय बताउँछन्।

‘जागिर गुमेपछि उनी परिवार कसरी पाल्ने भन्ने चिन्तामा थिए,’ स्थानीयले भने, ‘आखिर चिन्ताले उनलाई आत्मदाह गर्न बाध्य बनायो।’ सरकारलाई दोष दिन्छन कोही। ‘यो सरकारले गरी खाइआएको रोजीरोटी खोस्यो मान्छे डिप्रेसन भएर आत्मदाह नगरे के गर्छन त?’ अछामका गोविन्द विष्टले भने, ‘हामीसँग पनि जागिरबाट निकालिएको खबर आएको थियो। हामीले खबरदारी गरेकै थियौं। उहाँले हतारमा निर्णय गर्नु भयो। दुःखद छ। तर, राज्य व्यवस्था र सरकार नै दोषी हो।’

‘सरकारले पहल गरेकै हो।’ सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले भने, ‘हामीेले जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कर्मचारी कटौति नगर्ने बरु स्थानीय निकाएको सहयोगबाट भए पनि निरन्तरता दिने भन्ने कुरा गरेका थियौं। त्यो निर्णय कार्यान्वयनमै आउन नपाई दुःखद घटना भयो।’

अस्पतालले क्षतिपूर्ति दिने कुरो सुन्नमा आएको उनले बताए। उनले भने, ‘कोरोना महामारीका कारण जिल्लास्थित सबै रोजगार दाताहरुमा संकट परेको सबैलाई थाहै छ। त्यो त एउटा घटना भयो। हामी यस्ता घटना दोहोरीन नदिन छफलमा छौं। छलफलमा के कसरी अगाडि बढ्ने भन्ने कुरो आउँछ पछि भनौंला।

सोमबार विहानै आउजीले अस्पतालको परिसरमै आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाए। आगोले जलेर गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरबाट उद्दार गरी कोहलपुर मेडिकल कलेजमा पु-याइयो। अस्पतालमै उनले ७ महिनाको छोरी र जीवन संगिनी छोडे। संसार छोडे र अस्ताए। खान नपाईने मात्र एक कारण बन्यो उनको मृत्युको ।

बलयपाटा अस्पतालले आउजीसहित वर्षौंदेखि काम गरिरहेका ३२ जनालाई अवकास पत्र थमाएको थियो। पूर्व सूचना बिना अवकास पत्र दिएपछि उनीहरू आक्रोशित भए। आन्दोलित भए।

अस्पताल प्रशासनले ४ दिन भित्र हस्ताक्षर नगरे सेवा सुविधा नदिने भन्दै धम्कायो। मृतक आउजी सहित केही साथीहरुले हस्ताक्षर गरेका छैनन्। अवकास पत्र पाएपछि साँफेबगर नगरपालिकामा विन्ति बिसाए। नगरपालिकाले कर्मचारी नहटाउन भनि १४ गते विज्ञप्ति पनि जारी गरेको छ। तर, त्यसको भोलिपल्टै थप २२ जना कर्मचारी निकालिए।

‘स्थानीय तहलाई अटेर नै गरेको भन्दा पनि फरक नपर्ला’ साँफेबगर नगरपालिकाकी सूचना अधिकृत कविता कुवरले भनिन्। ‘नगरपालिकाले हामी संघ र प्रदेश सरकारसँग कुरा गर्दै छौं भन्दा पनि अस्पतालले कर्मचारी कटौति गरेको छ। दातृनिकायबाट संचालित अस्पताल हो। बजेट नआएर कर्मचारी कटौति गरेको भनेको छ,’ उनले भनिन्, ‘क्षतिपूर्ति दिन्छु त अस्पतालले भनेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *