स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द

डिसी नेपाल
२८ जेठ २०७७ ७:५२

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ।

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो।

कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए ।

कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब सङ्कलन भइरहेको छ।

“सङ्कलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौँ”, उनले भने, “नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् ।” सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ।

तीन प्रहरीमा कारोना सङ्क्रमण

कञ्चनपुरमा तीन प्रहरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो।

कोरोना सङ्क्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

उनका अनुसार सङ्क्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो।

प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टिन सिल गरिएको छ । क्वारेन्टिनमा बस्दै आएका सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *