महामारी नफैलिएको भए रानीपोखरीमा यतिबेला माछा पौडिरहेका हुन्थे – Dcnepal

महामारी नफैलिएको भए रानीपोखरीमा यतिबेला माछा पौडिरहेका हुन्थे

तस्वीर : गणेश पराजुली


काठमाडाैँ । कोरोनाको महामारी नफैलिएको भए काठमाडाैँ उपत्यकाको मुटुमा रहेको रानीपोखरीमा यतिबेला माछा पौडिरहेका हुन्थे ।विवादपछि पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएको रानीपोखरी गत वैशाख १२ गते उद्घाटन गर्ने योजना थियो।

५ वर्ष पहिला २०७२ सालको वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी पुनःनिमार्णको लागि सोही सालको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन्।

काठमाडौं महानगरपालिकाले पुनःनिमार्णको जिम्मेवारी पाएको रानीपोखरीमा कंक्रिट भरिएको भन्दै सर्वत्र विरोध भएको थियो। रानीपोखरीलाई पुरानै शैलीमा बनाउनुपर्ने भन्दै विवाद भएको थियोे। मल्लकालीन राजा प्रताप मल्लले आफ्ना माइला छोराको मृत्यु वियोगमा रहेकी रानीलाई सान्त्वना दिन रानीपोखरीको निर्माण गर्न लगाएका थिए ।

पोखरी ६२ रोपनी १३ आनाको जग्गामा बनाइएको छ। १ सय ८० मिटर लम्बाई र १ सय ४० मिटर चौडाइ रहेको रानी पोखरीको बीचभागमा बाल गोपालेश्वरको मन्दीर छ। दाजूभाइ र दिदीबहिनी नभएकाले बाल गोपालेश्वरमा भाइटिका लगाउने परम्परा छ।

हरेक वर्षको भाइटिकाको दिनमा खुल्ने वाल गोपालेश्वरको परम्परा रहेको छ। तर, विगतका ४ वटा भाइटिकामा नखुलेको बालगोपालेश्वरको मन्दीर यो भाइटिकामा खुल्ने पक्का भएको छ। ‘अब एक महिनामै काम पूरा हुन्छ,’ रानीपोखरी उपभोक्ता समितिका सदस्य विपेन्द्र खड्गीले डिसी नेपालसँग भने, ‘गएको वैशाख १२ गते नै उद्घाटन गर्ने योजना थियो। महामारीले काम रोकियो।’

‘लकडाउनको १ महिना पुरै काम बन्द भयो। अहिले पनि डराई डराई काम भइरहेको छ,’ उनले भने, ‘पत्रकार आउँदा पनि डर लागेर आउँछ। हामीले लकडाउनको १ महिना सकिएपछि सामाजिक दूरी कायम गर्दै, सुरक्षाका सामग्री प्रयोग गर्दै काम गरेका हौं।

हरेक वर्षको भाइटिकाको दिनमा खुल्ने वाल गोपालेश्वरको परम्परा रहेको छ। तर, विगतका ४ वटा भाइटिकामा नखुलेको बालगोपालेश्वरको मन्दीर यो भाइटिकामा खुल्ने पक्का भएको छ।

‘चारधामनको पानी ल्याएर रानी पोखरीमा हाल्नु पर्छ,’ खड्गीले थपे, ‘अब त्यो कहिले सम्भव हुन्छ र उद्घाटन हुन्छ त्यो अहिल्यै भन्न सकिन्न तर काम पूरा १ महिनामा हुन्छ।’

कंक्रिट प्रयोग नगर्न पुरातत्वविदहरुको आग्रहपछि अहिले पुरानै शैलीमा पोखरीको निर्माण भएको छ। सुर्की (इट्टाकै धुलो), चुना, वालुवा र कालोमाटो मिलाएर बनाएको गारोबाट रानीपोखरीका इट्टाहरु जोडिएका छन्। नेवारी भाषामा बज्र भनिन्छ। उक्त गारोले रानीपोखरीलाई पुरानै शैलीमा फर्काउन मद्दत गर्नेछ।

रानी पोखरी निर्माणको माथिल्लो भाग र बाल गोपालेश्वरको मन्दिर निर्माणको जिम्मा पाएको सीए/तुलसी कन्ट्रक्सन जेभीका फिल्ड व्यवस्थापक दोर्चे शेर्पाले करिव ३० लाख जति इट्टा रानीपोखरी निर्माणमा प्रयोग भएको बताए। उनले भने, ‘वाल निर्माणमा र मन्दिरको निर्माणमा ३० लाख जति इट्टा लाग्यो होला।’

१३ थरी बुट्टा भएको ईँटाहरु वालमा प्रयोग भएको उनले बताए। उनले भने, ‘ यो वालको लागिमात्र १३ प्रकारका बुट्टा भएको ईँटाहरु प्रयोग भएका छन्। अझ मन्दिको लागि झण्डै २० थरी बुट्टा भएका ईँटाहरु प्रयोगमा आउँछन्।’ रानीपोखरीको सहतको निर्माण व्यवस्थापन गर्ने विक्रम तामाङले सहतमा मात्र १५ लाख जति ईँटा प्रयोग भएको सुनाए।

उनले भने, ‘हामीले करिब १५ लाख जति ईँटा प्रयोग गरेका छौं। कालोमाटोले पानी कम सोस्ने भएकाले यो माटो प्रयोग भएको हो। यसले सिमेन्ट जस्तो जमीनलाई पानी नै नदिने भन्ने पनि हुँदैन।’ पूर्वमा ठिंग उभिएको घण्टाघरले रानीपोखरीलाई कहिले ठडिन्छौ भनेर गिज्याउजाउने दिन धेरै छैनन् अब। केही महिना पहिलामात्र ठडिएको र नयाँ नाना लगाएर चिटिक्क भएर दुलही जस्तै सजिएको दरवार हाईस्कुलले पनि रानी पोखरीलाई चाडाें उठेर घण्टाघरलाई जवाफ दिन उत्साहित पारिरहेको छ।

आज भन्दा ५ वर्ष पहिला २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले रानीपोखरी र दरवार हाइस्कुल भत्काएको थियो। लकडाउनको बेलामा पनि झण्डै २५/३० जनाले नियमित काम गरेका कारण रानीपोखरी अबको १ महिना भित्र सकिने भएको छ ।

ई.स. १६६५ मा निर्माण भएको रानीपोखरीमा करिव ३ करोड ५० लाख लिटर बढी पानी अट्ने गरेको छ। पानीको स्रोतका लागि पोखरी बाहिरको दुई कुनामा बोरिङ खनिने छ भने, आकाशे पानीलाई पनि प्रयोगमा ल्याइने छ। त्यस्तै मेलेम्चीको पानी पनि राख्ने योजना रहेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो