युवाले विदेशबाट ल्याएको सीपलाई नेपालमै उपयोग गर्ने तयारी सुरु

डिसी नेपाल
२९ जेठ २०७७ ११:५२

काठमाडौं। कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई धमाधम उद्दार गरेर स्वदेश ल्याउने काम भइरहेको छ। बिहीबार मात्रै पनि कुवेतबाट करिव तीन सय नेपाली महिला नेपाल ल्याइएको छ।

यसरी वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा गएका नेपाली युवा स्वदेश फर्किएपछि उनीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकारले तयारी थालेको छ। विदेशबाट नेपाल आइसकेपछि क्वारेन्टाइनको बसाइपछि उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम मन्त्री रामेश्वर राय यादवलाई निर्देशन दिएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विदेशबाट स्वदेश फर्किएका युवालाई क्वारेन्टाइनको बसाइपछि कसरी उनीहरुको व्यवस्थापन गर्ने भन्न विषयमा टुंगो लगाउन निर्देशन दिएका हुन्।

सो विषयमा आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम मन्त्री रामेश्वर राय यादवबीच छलफल हुँदैछ। विशेष गरी विशेषबाट आएका नेपाली युवालाइ क्वारेन्टाइनपछि कसरी काममा लगाउने र उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

विदेशबाट फर्किएका युवाहरुले नयाँ सीप सिकेर आएका हुने र त्यसलाई नेपालमै कसरी प्रयोग गर्न सकिन्छ भनेर सरकारले योजना बनाउन थालेको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशबाट आएका युवालाई क्वारेन्टाइनको बसाइ पछि कसरी काममा लगाउन सकिन्छ भनेर सरकारले छलफल थालेको बताए।

विशेषबाट आएकाहरुको व्यवस्थापनको मात्रै नभएर विदेश जान चाहनेका लागि कुन देशमा सम्भावना छ भन्ने विषयमा पनि छलफल गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

विदेशमा सीप सिकेर आएको युवामा त्यही अनुसारको काम दिएर स्वदेश भित्रै रोजगारी सृजना गर्ने सरकारी नीति अनुरुप प्रधानमन्त्री ओलीले त्यस्ता युवाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन परराष्ट्र र श्रम मन्त्रीलाई निर्देशन दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *