बैतडीमा पिसिआर प्रयोगशाला बनाउन समिति गठन

डिसी नेपाल
३१ जेठ २०७७ १०:१७

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा कोरोना परीक्षण गर्न पिसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिना पुग्नै लागेको छ।

गत चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकले धनगढी, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। धनगढीमा प्रयोगशाला भए पनि बैतडी र डोटीमा अझै प्रयोगशाला बनाउने काम हुनसकेको छैन।

प्रयोगशाला बनाउन आवश्यक समन्वय गर्न र दबाब दिन जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ।

समितिले प्रयोगशाला बनाउन प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

समितिमा स्वास्थ्य, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, राजनीतिक दलका पदाधिकारी सदस्य छन्।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबारको बैठकले कोरोना परीक्षणको दायरा बढाउन प्रयोगशाला स्थापना अनिवार्य भएकाले प्रदेश सरकारले यसअघि गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

प्रयोगशाला स्थापना गर्न गएको वैशाखमा जिल्लामा सम्भाव्यता अध्ययन भइसकेको छ । प्रदेशमा हाल एक मात्र प्रयोगशाला हुँदा परीक्षणको दायरा बढाउन सकिएको छैन । प्रदेशभरि ६६ हजार नागरिक क्वारेन्टिनमा छन्।

बैठकले जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनासमेत पारित गरेको छ । यसैगरी विपद्को समयमा आवश्यक पर्ने उद्धारका सामग्री खरिद गर्नका लागि सबै स्थानीय तहहरुसँग आग्रह गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *