सरिता गिरीलाई कारवाही गर्ने तयारीमा जुट्यो पार्टी, के होला कारवाही ?
काठमाडौं । पार्टीको निर्देशन उल्लंघन गरेकी जनता समाजवादी पार्टी (संसदको रेकर्डमा अझैसम्म समाजवादी पार्टी) की नेतृ सरिता गिरीलाई पार्टीले कारवाहीको तयारी थालेको छ । पार्टीको निर्देशन उल्लंघन गर्दै संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधन फिर्ता लिन अस्वीकार गरेकी र मतदानका बेला संसद बैठक छाडेर बाहिरिएकी उनलाई अब कारवाही थालिएको हो ।
पार्टीको संसदीय दलले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो तर गिरीले निर्णय उल्लंघन गर्दै बैठक छाडेर बाहिरिएकी थिइन् । पार्टीले गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिँदै तीन विकल्प दिएको थियो । पहिलो आफ्नो प्रस्ताव फिर्ता लिने, दोस्रो फिर्ता नलिने भए पार्टी परित्यागको घोषणा गर्ने र दुबै नगरे पार्टीले कारवाही गर्ने विकल्प दिइएकोमा गिरीले पहिलो र दोस्रो विकल्प नरोजेपछि अब तेस्रो विकल्पअनुसार उनीविरुद्ध कारवाही गरिने भएको छ ।
गिरीले संशोधन फिर्ता लिन नमानेपछि नै पार्टी उनीप्रति असन्तुष्ट थियो । शनिबारको बैठकमा उनले जबरजस्ती आफ्नो संशोधनबारे बोल्न खोजेकी थिइन् तर सांसदहरुले टेबल ठोकेर उनलाई बोल्न दिएनन् । उता, सभामुखले उनको संशोधन नै नियमअनुसार नभएको भन्दै खारेज गरिदिए । सभामुखले संशोधन खारेज गरिदिएपछि गिरी रिसाउँदै बैठक नै बहिष्कार गरेर हिँडेपछि पार्टीका शीर्ष नेताको आक्रोशमा घिउ थपिएको छ ।
पार्टीले गिरीलाई कारवाही गर्ने निश्चितजस्तै भए पनि उनलाई के कारवाही हुन्छ भन्ने निश्चत भएको छैन । उनीमाथि गरिने कारवाही कुन हदसम्मको हुने भन्ने पार्टीले निर्णय गर्नेछ । उनलाई पार्टीले पहिले नै संशोधन फिर्ता नलिए पार्टी परित्यागको घोषणा गर्ने विकल्प दिएकोले उनीविरुद्ध पार्टीबाटै निष्काशनको कारवाही समेत हुन सक्छ । पार्टीले कठोर निर्णय गर्दै निष्काशनकै कारवाही गरेमा भने उनको सांसद पद नै नरहन सक्छ किनकि जुन पार्टीबाट निर्वाचित भएर सांसद भएको हो सो पार्टीमै नरहेको सूचना पार्टीले संसद सचिवालयमा दिएपछि सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment