प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थल निर्माण अभियानमा सरकारको सहयोग रहने छ : मन्त्री चौधरी

डिसी नेपाल
१८ साउन २०८३ २१:१२

खोटाङ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको “प्लास्टिक तथा शिशाजन्य फोहोरमुक्त सार्वजनिक स्थलः जलवायुमैत्री र सभ्य नगर निर्माण महाअभियान” लाई समयसापेक्ष, दूरदर्शी र अनुकरणीय पहल भएको बताएकी छन्।

महाअभियानको शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले प्लास्टिक तथा शिशाजन्य फोहोरका कारण वातावरण, जैविक विविधता, कृषि, जलस्रोत तथा मानव स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै यसको व्यवस्थापनलाई जनअभियानका रूपमा अघि बढाउनु आवश्यक रहेको बताइन्।

उनले काम पुन:प्रयोग अवधारणालाई व्यवहारमा लागू गर्दै फोहोरको स्रोतमै वर्गीकरण, पुनःप्रयोग र पुनर्चक्रणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्। यसबाट फोहोरलाई मोहरमा रूपान्तरण गरी हरित रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो।

मन्त्री चौधरीले वातावरण संरक्षण सरकारको मात्र नभई प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय समुदाय, विद्यालय, युवा, महिला समूह, व्यवसायी तथा सञ्चारमाध्यमको सक्रिय सहभागिताले मात्र यस्ता अभियान सफल हुने बताइन्। साथै सरकारले एकपटक प्रयोग हुने प्लास्टिक न्यूनीकरणका लागि आवश्यक कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिँदै स्थानीय तहका यस्ता सिर्जनशील अभियानमा संघीय सरकारबाट आवश्यक नीतिगत, प्राविधिक तथा समन्वयात्मक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री चौधरीले खोटाङबाट सुरु भएको यो अभियान देशभरका स्थानीय तहका लागि प्रेरणादायी नमुना बन्ने विश्वास व्यक्त गर्दै अभियानको सफल कार्यान्वयनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *