बाँकीपुर उपनिर्वाचनमा प्रशान्त किशोरको ऐतिहासिक जित, भाजपालाई ठूलो राजनीतिक झट्का

डिसी नेपाल
१९ साउन २०८३ ९:४६

काठमाडौं। भारतको बिहारस्थित बाँकीपुर विधानसभा उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले ऐतिहासिक जित हात पारेका छन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको सिटमा जुलाई ३० मा भएको निर्वाचनमा किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा नीरज कुमारले ४४ हजार ८२७ मत पाए। यससँगै सन् १९९५ देखि लगातार जित्दै आएको भाजपाको ३० वर्ष पुरानो गढ बाँकीपुरमा ढलेको छ।

जितपछि प्रतिक्रिया दिँदै प्रशान्त किशोरले, “३० वर्षदेखि कायम रहेको किल्ला केवल ३० दिनमै ढल्यो,” भन्दै यो परिणाम केवल एक क्षेत्रको जित नभई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई बिहारका जनताले दिएको सन्देश भएको बताए। उनले राम्रो छवि भएका नेतृत्वलाई अघि सार्नुपर्ने जनताको अपेक्षा रहेको उल्लेख गर्दै आफूलाई मतदान गर्ने र नगर्ने सबै मतदाताप्रति आभार व्यक्त गरे।

किशोरले एक सिटको जितले चमत्कार नहुने स्पष्ट पार्दै तत्कालै ठूलो परिवर्तनको अपेक्षा नगर्न आग्रह गरे। उनले भने, “म सांसद बन्नासाथ बाँकीपुर बैंगलुरु बन्दैन, तर केही महिनामै जनताले सकारात्मक परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नेछौं।”

यस उपनिर्वाचनसँगै बिहार विधानसभामा प्रशान्त किशोरको औपचारिक प्रवेश भएको छ। उता, मध्यप्रदेशको डाटिया विधानसभा उपनिर्वाचनमा कांग्रेसले भाजपालाई ६ हजार १६ मतान्तरले पराजित गर्दै जित निकालेको छ भने गुजरातको मञ्जपुरमा भने भाजपाले सहज विजय हासिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *