पोखरामा कोरोना प्रभावित व्यवसायको पुनःरुत्थानका लागि रक्षा कोष स्थापना

डिसी नेपाल
६ असार २०७७ ९:३५

पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीका कारण प्रभावित व्यवसायको पुनःरुत्थानका लागि रक्षा कोष स्थापना गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उक्त कोष स्थापनाका लागि रु एक अर्ब विनियोजन गरिएको छ।

कोषबाट कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारू गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको मन्त्री गुरुङले बताए।

स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोरोना प्रभावित युवालाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन आवश्यक सीप, पुँजी र प्रविधि उपलब्ध गराउन रु १८ करोड ४२ लाख बजेट व्यवस्था गरिएको मन्त्री गुरुङले बताए।

कोरोना लक्षित हुने गरी सङ्घ र स्थानीय तहको साझेदारीमा व्यावसायिक तथा सीप विकास तालीम केन्द्रमार्फत सञ्चालन हुने तालीमका लागि रु १० करोड ५० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रमार्फत सञ्चालन हुने तालीमका लागि रु नौ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ।

सरकारले कृषितर्फ कोरोना लक्षित कार्यक्रम सञ्चालनका लागि रु १८ करोड ५० लाख र पर्यटनतर्फ रु दुई करोड छ लाख विनियोजन गरिएको छ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोरोनाको प्रभाव र असर न्यूनीकरण गर्न पूँजी निर्माण तथा रोजगारी सिर्जना गर्ने पूर्वाधार विकासका योजना सञ्चालन गर्ने गरी निरन्तरता दिइएको उल्लेख गर्दै मन्त्री गुरुङले समग्र कोरोना लक्षित कार्यक्रमका लागि रु दुई अर्ब ९१ करोड ७६ लाख विनियोजन गरिएको बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *