नेपाली बालिकालाई भारतमा बिक्री गर्ने दुई युवक पक्राउ

डिसी नेपाल
७ असार २०७७ २१:४०

काठमाडौं। एक नेपाली बालिकालाई भारतको एक प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभन देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोले जनाएको छ । काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरेर काठमाडौ ल्याइएको छ ।

उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पुर्याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *