चीनसँग तनावका बीच भारतीय रक्षामन्त्री रुस गए, अमेरिकाले भारतलाई प्रतिबन्ध लगाउने खतरा

डिसी नेपाल
८ असार २०७७ १२:३७

नयाँ दिल्ली। भारत–चीन तनावका बीच रक्षामन्त्री राजनाथ सिंह सोमबार तीन दिने भ्रमणमा रुस गएका छन् । यस क्रममा दुई देशबीच रक्षाका विषयमा रणनीतिक साझेदारीमा चर्चा हुने अपेक्षा गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, यो भ्रमणमा भारतले रुसलाई एस–४०० एन्टी मिसाइल सिस्टम छिटोभन्दा छिटो उपलब्ध गराउन दबाब दिने सम्भावना छ । यदि यसो भएमा भारत र अमेरिकाको सम्बन्ध बिग्रिन सक्छ ।

यो मिसाइल डिफेन्स सिस्टमको डील भएपछि नै अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने चेतावनी दिइसकेको छ । यो मिसाइल डिफेन्स सिस्टमको सम्झौता ५ अर्ब डलरको हो । अक्टोबर २०१८ मा भारतले रुससँग ५ एस–४०० मिसाइल सिस्टम किन्नको लागि ५ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो । यो सम्झौतापछि अमेरिकाले भारतलाई चेतावनी दिइसकेको छ ।

यो सम्झौतासँगै अमेरिकाले भारतलाई काटसा एक्ट अन्तर्गत कारवाही गर्न सक्ने चेतावनी दिएको थियो । यो कानुन अन्तर्गत अमेरिकाले इरान, उत्तर कोरिया र रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । गत वर्ष भारतले रुसलाई खरिदको पहिलो किस्तावापत ८० करोड डलर भुक्तानी गरिसकेको छ । एस–४०० रुसको सबैभन्दा आधुनिक, लामो दूरीको जमिनबाट आकाशमा मार हान्न सक्ने मिसाइल डिफेन्स सिस्टम हो ।

दक्षिण र मध्य एसियाको लागि अमेरिकी विदेश विभागकी शीर्ष अधिकारी एलिस वेल्सले एक महिनाअघि पनि वाशिङटनस्थित थिंक ट्यांकसँग भनेकी थिइन् ‘हाम्रो नीतिमा काटसा प्राथमिकतामा छ । हामी रुसलाई सैन्य हतियार बेचेर पैसा कमाउन दिन सक्दैनौं किनकि रुसले यसको प्रयोग आफ्ना प्रतिस्पर्धी देशहरुको विरुद्ध गर्नेछ ।’

चीनसँग हिंस्रक झडप भएको ६ दिनपछि भारतीय रक्षा मन्त्रीको यो यात्रालाई चीनसँग पनि जोडेर हेरिएको छ किनकि रुसको ७५ औं विजय दिवसमा हुने कार्यक्रममा चीन पनि सहभागी हुनेछ । राजनाथ सिंहले रुसका रक्षा मन्त्रीलाई चीनसँगको सीमा विवादबारे जानकारी दिनेछन् । चीन पनि कार्यक्रममा सहभागी हुने भए पनि राजनाथ र चिनियाँ अधिकारीबीच भने भेटघाट नहुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *