५६ दिनसम्म चलेको संसदको अधिवेशनमा कति विधेयक पारित?

डिसी नेपाल
२१ असार २०७७ २१:२८

काठमाडौं। संसदको बजेट अधिवेशन गएको वैशाख २६ गते शुरु भएर असाढ १८ गते अन्त्य भयो। ५६ दिनसम्म चलेको संसदको छैटौं अधिवेशनले संविधान संशोधन र आगामी आर्थिक वर्षको बजेट पारित गर्ने महत्वपूर्ण काम गर्यो।

यो अधिवेशनका क्रममा प्रतिनिधिसभामा उत्पति भएर विभिन्न १० वटा विधेयक पारित भएको सभामुखको सचिवालयले जनाएको छ।

सचिवालयले आइतबार संसदको छैटौं अधिवेशनमा भएका कामबारे जानकारी दिँदै २५ दिनमा २६ वटा बैठक बसेको जानकारी दिएको छ। बैठक १०३ घण्टा २५ मिनेट बसेको सचिवालयले जनाएको छ।

सचवालयले भनेको छ, ‘संसदको छैटौं अधिवेशनसंगै प्रतिनिधि सभाको पहिलो बैठक २०७७ साल वैशाख २६ गते शुक्रबार प्रारम्भ भई २०७७ साल असार १८ गते बिहीबारसम्म जम्मा ५६ दिन चालु रह्यो । जसमध्ये २५ दिनमा २६ पटक बैठक बसी जम्मा १०३ घण्टा २५ मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो । साथै यही अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसी ५ घण्टा १० मिनेट समय व्यतित भएको थियो।’

जेठ २ गतेको बैठकमा राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति पेश भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । साथै राष्ट्रपतिबाट सम्बोधन मार्फत् प्रस्तुत भएको आव २०७७–०७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७७ जेठ ४ र ५ गते छलफल भई जेठ ६ गते उक्त नीति तथा कार्यक्रम बहुमतबाट पारित भयो ।

यस्तै जेठ १५ गतेको बैठकमा आ.व. २०७७–०७८ को लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) पेश भएको थियो जस उपर जेठ १८ गते छलफल भई जेठ १९ गतेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाबाट जवाफ दिने कार्य समेत सम्पन्न भएको थियो ।

१९ गतेको बैठकमा प्रस्तुत भएको विनियोजन विधेयक, २०७७ माथि २०७७ जेठ २३, २४ र २५ गते दफावार छलफल भई र जेठ २६, २७ र २८ गते सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिई जेठ २८ गते बहुमतबाट पारित भएको थियो ।

यस्तै सचिवालयका अनुसार यस अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा १० वटा सरकारी र ४ वटा गैर सरकारी विधेयक दर्ता भएकोमा ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेको छ, २ वटा विधेयक सभामा प्रस्तुत भएको छ। २ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ । साथै सभाको दोस्रो, तेस्रो, चौथोर पाँचौं अधिवेशनमा दर्ता भएर विभिन्न चरणमा रहेका २४ वटा विधेयकहरु मध्ये एउटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने ९ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा नै रहेको छ।

सचिवालयले भनेको छ, ‘एउटा विधेयक सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको छ, तीनवटा विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत भएको छ, दुई वटा विधेयकको सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल भएको छ, ३ वटा विधेयक सभामा प्रस्तुत भएर रहेको छ भने ४ वटा सरकारी र एउटा गैर सरकारी विधेयक सभामा प्रस्तुत हुन बाँकी नै रहेको छ।’

त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाको तेस्रो, चौथो, पाँचौं र यस अधिवेशनमा प्राप्त भएको विभिन्न ८ वटा विधेयकहरु मध्ये २ वटा विधेयक सभाबाट पारित गरी राष्ट्रिय सभामा फिर्ता पठाइएको छ। ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको अवस्था छ। एउटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको छ, एउटा विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त भैसकेको छ भने तीनवटा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल मात्र भएको अवस्थामा छ ।

प्रतिनिधि सभामा उत्पत्ति भई सभाबाट पारित

१. रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) विधेयक, २०७७

२. नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७

३. आर्थिक विधेयक, २०७७

४. विनियोजन विधेयक, २०७७

५. राष्ट्र ऋण उठाउने विधेयक, २०७७

६. ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७

७. केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७

८. लोक सेवा आयोग विधेयक, २०७७

राष्ट्रिय सभामा उत्पत्ति भई सभाबाट पारित

९. नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७७

१०. संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक, २०७७




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *