रातो मच्छेन्द्रनाथ मन्दिर पुनःनिर्माण शुरु

डिसी नेपाल
२२ असार २०७७ १७:३१

काठमाडौं । पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त ललितपुरको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण उपभोक्ता समितिमार्फत शुरु भएको छ। यही असार २० गते शनिबार क्षमा पूजा गरी सोमबारदेखि काम शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए। सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुङ्गाका खम्बा एकत्रित गर्ने काम गरिएको छ । उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीसँग छलफल पनि गरेको छ।

मन्दिर पुनःनिर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराएको विभागका सीडीई सम्पत घिमिरेले बताए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको नेतृत्वमा विभागले मन्दिर पुनःनिर्माणको प्राविधिक रेखदेख गर्नेछ । उपभोक्ता समिति र विभागबीच भएको सम्झौतानुसार समितिले एक वर्ष अर्थात २०७८ असार १५ गतेभित्र तीन करोड आठ लाख लागतमा मन्दिरको पुनःनिर्माण गर्नुपर्नेछ । सम्झौतापछि उपभोक्ता समितिले ४० लाख पेश्की लिएको विभागले जनाएको छ ।

यसअघि श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायीमार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण अघि बढाइएको थियो । पूर्वयोजनानुसार मन्दिरको काम अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझावअनुसार ठेक्का तोडी उपभोक्ता समितिमार्फत गर्न लागिएको हो ।

मन्दिर पुनःनिर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपालिका एवं सम्बन्धित वडाका प्रतिनिधि, विभागका प्रतिनिधि, बुङ्गमती क्षेत्र पुनःनिर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ ।

गत पुस १४ गते सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधिसहितको बैठकले मन्दिरको बाँकी पुनःनिर्माण उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो । उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा सकारात्मक परिणाम आएका छन् । रानी पोखरीको पिँध र पानी रहने वरिपरिको पर्खालको पुनःनिर्माण सकेर त्यहाँको उपभोक्ता समितिले गत साता प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *