सरिता गिरीलाई पार्टी र सांसदबाट निकाल्ने समाजवादी पार्टीको निर्णय

डिसी नेपाल
२३ असार २०७७ १७:२६

काठमाडौं । प्रतिनिधि सभाको वैठकमा दिएको अभिव्यक्तिका कारण विवादित बनेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद र पार्टी दुबैबाट हटाइने भएको छ। सामाजवादी पार्टीको मंगलबार बसेको बैठकले उनलाई पार्टी र सांसदबाट हटाउने निर्णय गरेको हो।

गिरीलाई सांसद पदबाट हटाउने निर्णय भएको पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए। डिसी नेपालसँग उनले भने, ‘छानबिन समितिको सिफारिसमा उहाँलाई पार्टी र सांसदबाट निकाल्ने निर्णय भएको छ।’ सांसद पदबाट हटाउने निर्णय गरेको संसद सचिवालयलाई दिने निर्णय पनि भएको नेता राईले बताए।

गत जेठमा पारित भएको नेपालको संविधान दोस्रो संशोधनमा उनले विमत्ति राखेकि थिइन्। नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने र निशान छाप बनाउने संशोधन प्रस्तावमा गिरीले विमत्ति जनाएकी थिइन्।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्। ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि पार्टीले बनाएको कार्यदलले सिफारिस गरेको समाजवादी पार्टीले जनाएको छ।

समाजवादी पार्टीले पार्टी प्रतिनिधि सभाका सांसद समेत रहेका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य सदस्य रहने गरी कार्यदल बनाएको थियो। कार्यदलले गिरीलाई कारबाहीको लागि सिफारिस गरेको संयोजक समेत रहेका यादवले जानकारी दिए।

गिरीले गत जेठ २७ गते नेपालको संविधानमा रहेको निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि प्रतिनिधि सभामा मतदान भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *