नेपाल प्रहरीको आइजीपीमा शैलेश थापालाई नियुक्त गर्ने सरकारकाे निर्णय

डिसी नेपाल
२३ असार २०७७ १८:५९

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।

एआईजीद्धय शैलेश थापा र हरिबहादुर पाल २८ औ महानिरीक्षकको लागि दौडमा भएपनि सरकारले थापालाई नियुक्त गरेको हो ।उनको कार्यकाल २२ महिनाको हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरियताकाे एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनले धेरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताएका छन् । थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनी मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।

पाँच महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन् । त्यस्तै थापा सुडान, पूर्वी टिमोर र बोस्निया मिसनमा समेत गएका थिए । उनको कार्यकाल ०७९ वैशाख १९ गतेसम्म हुनेछ ।

प्रहरी संगठनको कर्तव्य प्रति समर्पित रहने थापाको राजनीतिक नेतृत्वसँग भने त्यति घनिष्ठ सम्बन्ध नभएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । थापाले प्रहरी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी कार्यालय सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए । थापा यसअघी प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा एसपी भएर काम समेत गरेका थिए । थापासँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन् । अरु एसएसपी र एसपीमा रोकिएका छन् ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउँदैछन् । प्रहरी मुख्यालयले नयाँ आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

थापाका एक समकक्षीका अनुसार फिल्ड कमाण्डमा भने उनी कमजोर अधिकृतका रुपमा चिनिन्छन्। सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा बिताएका छन् । थापाका बुबा शम्भु थापा २०५२ सालमा डीआईजीबाट अवकाश पाएका अधिकृत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *