हिमालय र इन्भेष्टमेण्ट बैंकबीच मर्जरको तयारी

डिसी नेपाल
२४ असार २०७७ १३:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुबिच ‘बिग मर्जर’ को व्यवस्था ल्याउने अनुमान भइरहेका बेला दुई ठूला बैंकबीच मर्जरको प्रक्रिया अगाडि बढेको छ । दुई ठूला बाणिज्य बैंक हिमालय र नेपाल इन्भेष्टमेण्ट बैंकबीच मर्जरका लागि जुटेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गर्ने घोषणा गरेको थियो । बजेटकै घोषणा अनुसार राष्ट्र बैंकले समेत ठूला बैंकहरुबिच फोर्स मर्जर हुने गरी नीति ल्याउने तयारी गरिरहेको छ । राष्ट्र बैंकबाट फोर्स मर्जरको नीति आउने संकेत पाएसँगै हिमालयन र इनभेष्टमेन्टले मर्जरको तयारी गरेका हुन् ।

दुई बैंकबीच रहेको क्रस होल्डिङ र उच्च व्यवस्थापनको पारिवारीक नाताका कारण मर्जरको लागि मुख्य दवाव रहेको बताइएको छ । इनभेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी वहादुर पाण्डेको हिमालयनमा समेत लगानी रहेको छ । यसैगरी हिमालयन बैंकका लगानीकर्ता राणा परिवारसँग पाण्डेको नाता सम्बन्ध पनि छ । हाल हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा पाण्डेका सालो हुन् ।

समाचार स्रोतका अनुसार पछिल्ला केही दिनदेखि दुई बैंकबीच कसरी मर्ज गर्न सकिन्छ भनेर विभिन्न चरणमा छलफल भएको छ । एक बराबर एक शेयर अनुपातमा एकिकरण गर्ने, अध्यक्षमा पाण्डे र प्रमूख कार्यकारी अधिकृतमा अशोक राणा नै रहने सहमति भएपनि यसलाई टुग्याउन भने बाँकी रहेको छ ।

यी दुई बैंकहरुबिच मर्जर भए यो बैंकिङ क्षेत्रकै सबैभन्दा ठूलो मर्जर हुनेछ । यसअघि जनता र ग्लोबल आइएमई बैंकबीच मर्जर भएको थियो ।
इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पाण्डेले मर्जरका लागि विभिन्न बैंकसँग छलफल भएपनि कसैसँग सहमति नभएको बताए ।

‘मर्जरको कुरा विगत दश वर्षदेखि चल्दै आएको हो, नेपालमा बैंकको संख्या धेरै भयो, यति धेरै बैंक आवश्यक छैन,’ उनले डिसी नेपालसँग भने, ‘तर हिमालयनसँग अहिले कुनै प्रक्रिया भने अगाडि बढेको छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *