अमेरिकाको टेक्सासमा माछा मार्न गएका नेपाली युवा बेपत्ता

डिसी नेपाल
२७ असार २०७७ २३:२८

टेक्सास (अमेरिका) । माछा मार्नका लागि खोलामा गएका एकजना नेपाली युवकसहित दुईजना बेपत्ता भएका छन्। अमेरिकाको टेक्सास राज्यस्थित डालास फोर्थ वर्थमा स्थायी बसोवास भएका ती युवा जुलाई ९ तरिकका दिन विहीबार आफ्ना अरु दुईजना साथीहरुसहित माछा मार्न रेड ब्लफ रोडमा अवस्थित ब्राजस रिभरबाट बनाइएको ड्याममा गएका थिए ।

एकजना भुटानी मुलका नेपाली र एकजना भियतनामी मुलका साथीसहित सो ठाउंमा माछा मार्न भनी गएका ती १९ बर्षीय नेपाली मुलका युवा बेलुका अवेरसम्म घर नफर्किएपछि उनीहरुको खोजी गरिएको थियो ।

समाचारअनुसार, तीनजनामध्ये भियतनामी युवामात्रै घर फर्किएका छन् । बल्लतल्ल पौडेर निस्कन सफल भएका ती भियतनामी मुलका युवा पनि शरीरको लुगा हराएको अवस्थामा बाहिर आएको स्थानीय समाचारहरुमा उल्लेखित छ ।

तस्वीर : फक्स४न्यूज/सीबीएस लोकल

तीनमध्ये दुईजना बेपत्ता भएपछि उनीहरुको खोजीका लागि नेपालीहरुको टोली घटनास्थल पुगेर पनि फर्किएको छ । टेक्सासका दुई समाचार च्यानलहरुले यसबारे समाचार पनि प्रकाशित गरेका छन् । डीएफडब्ल्यू डट सीबीएस लोकल डट कमका अनुसार, खोजीकार्यमा टेक्सास गेम वार्डेन क्रुहरु परिचालित भएका छन् ।

खोजीका लागि हेलिकोप्टरको समेत प्रयोग गरेको तस्वीर र भिडियो उसले प्रकाशित गरेको छ । शुक्रबार अवेरसम्मको खोजी कार्यमा अन्डरवाटर क्यामेराको पनि प्रयोग गरिएको फक्स फोर न्यूजले उल्लेख गरेको छ । बेपत्ता युवा नेपालका पूर्वमन्त्री कमल चौंलागाईंका छोरीतर्फका नाति रहेको बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *