यूनिसेफको सहकार्यमा गायक बज्राचार्यको अर्को कोरोना सम्बन्धी गीत बजारमा (भिडियो)

डिसी नेपाल
२८ असार २०७७ १९:२९

काठमाडौँ । लोकप्रिय गायक दीपक बज्राचार्यले यूनिसेफ दक्षिण एशियाको सहकार्यमा कोरोना सचेतनासम्बन्धी नयाँ गीत ‘द कोरोना सङ’ बजारमा ल्याएका छन् ।

गायक बज्राचार्यले पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरस र यसबाट जोगिनुपर्ने विषवस्तुलाई टपक्क टिपेर सार्क राष्ट्र स्तरीय अंग्रेजी गीत बजारमा ल्याएका हुन्। गायक बज्राचार्यले संगीत भरेको उक्त गीतमा छोरी चेरिसा बज्राचार्यले स्वर भरेकी छन् । यसअघि पनि बज्राचार्यले यूनिसेफसँग मिलेर कोरोना सम्बन्धी गीत बजारमा ल्याएका थिए ।

नेपाली गीत संगीतलाई मात्रै नभएर नेपाली कला संस्कृतिलाई पनि विश्व समुदायमा चिनाउन सफल गायक बज्राचार्यले कोरोनाको महामारीका बेला सार्क राष्ट्रका ८ देशलाई समेटेर सबैले बुझ्ने भाषामा गीत ल्याएको बताएका छन्।

गीतले कोरोना कहरकाबीच दया, सद्भाव, आशा र कोरोनालाई परास्त गर्न पारस्परिक सहयोगको खाँचो रहेको सन्देश बोकेको छ।

उक्त गीतको म्युजिक भिडियो नेवारी कला संस्कृति, भेषभूषा र बाजागाजा प्रयोग गरेको बनाईएको छ । रिक्की शाक्यले निर्देशन गरेको भिडियोमा गायिका चेरिसा बज्राचार्य, दीपक बज्राचार्य लगायतका कलाकारहरु रहेको नेवारी भेषभूषा सहितको भिडियो देख्न सकिन्छ।

यसअघि गायक बज्राचार्यको, नेपाली हिन्दी र अंग्रेजी भाषाको मनमगन नामक गीत निकै चर्चित छ । त्यस्तै, म त हावासँगै आउँछु, मायाको डोरीले निष्ठुरी मोरीलाई, फर्केर आउन छैन, तिम्रो मेरो छेउमै घर बोलका गीतहरु पनि गायक बज्राचार्यका चर्चित गीतमध्ये पर्दछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *