विदेशमा अलपत्र नेपालीको दोस्रो चरणको स्वदेश फिर्ती उडान सुरु

डिसी नेपाल
३१ असार २०७७ १२:५२

काठमाडाैं। कोरोना महामारीका कारण विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई घर फर्काउन दोस्रो चरणका स्वदेश फिर्ती उडान सुरु भएका छन् । पहिलो चरणका उडान सकिएपछि दुइ दिनसम्मका लागि रोकिएका उद्धार उडान आज (बुधबार) बाट फेरि सुरु भएका हुन् ।

सरकारले असार २८ गतेसम्मका लागि तय भएका सबै चार्टर्ड उडान पूरा भएपछि थप ४२ चार्टर्ड उडान तय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रालयले जुलाई १५ बुधबारदेखि जुलाइ २२ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक गरेको थियो ।

यो अवधिमा विदेशका विभिन्न ६ देशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइनेछ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली ल्याइनेछ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स तथा विदेशी कम्पनी फ्लाइ दुबई, एयर अरेविया, मलिन्दो एयर र जजिरा एअरले उडान भर्नेछन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज बुधबार नेपाल एयरलाइन्स चीनको कुनमिङ्गबाट, सिल्क एयर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट काठमाण्डौँ आउँदैछन् ।

पहिलो चरणमा विभिन्न मुलुकमा समस्यामा परेका २७ हजार ५३२ नेपाली स्वदेश फर्किएका थिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार विदेशमा समस्यमा परेका नेपालीहरुलाई घर फर्काउन सञ्चालन गरिएको पहिलो चरणका १७५ वटा चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।

फर्किएका सबै नेपाली आफ्नै खर्चमा समान्यभन्दा दोब्बर भाडा तिरेर चार्टर्ड फ्लाइटमा आएका हुन् । उनीहरुमध्ये धेरैजसोले आफ्नै पैसाले टिकट काटेका हुन् भने केहीलाई रोजगारदाता कम्पनीले उपलब्ध गराएको हो । स्वदेश फर्कनको लागि विदेशस्थित नेपाली दूतावासमा अझै हजारौँ नेपालीहरुले आवेदन दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *