मुलुकभर परेको अबिरल वर्षाका कारण तीन जनाको मृत्यु, ठाउँ ठाउँमा सकड अवरुद्ध

डिसी नेपाल
६ साउन २०७७ ७:१९

काठमाडौं। मुलुकभर परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न १२ स्थानमा पहिरो तथा बाढी आएको छ। अबिरल वर्षाका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ भने एक जना बेपत्ता भएका छन्।

बाढी पहिरोका कारण मुलुकका विभिन्न आठ स्थानमा बाटो अबरुद्ध भएको गृहमन्त्रालय राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मन्त्रालयका अनुसार सोमबार दार्चुलाको नौगाड गाउँपालिका–६ परीगाउँमा खोलाको पानीको बहाव बढ्दा तीन वटा घर बगाएको छ।

उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। यसैगरी सोमबार नै काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

बारा, महोत्तरी, सर्लाही, बाजुरा, संखुवासभा, पाँचथर, कास्की रुकुमपश्चिम अधिवर वर्षापछि आएको बाढीले भौतिक क्षति पुर्याएको गृहमन्त्रालयले जनाएको छ।
यसैगरी रसुवाको स्याफ्रुबेसी–टिमुरे पासाङल्यामु सकडखण्ड, चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने मुग्लिङ–नारायणघाट सडकखण्डको चारकिलो, लमजुङको मस्र्याङदी गाउँपालिका–४ वेसिशहर मनाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन्।

यसैबीच बुधबारसम्म काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा धेरै वर्षा हुनसक्ने जल तथा मौसन पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबारदेखि बुधबारसम्म अत्याधिक वर्षा हुने अनुमानसहित विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

व्यापक बर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *