कोरोना भाइरसको महामारी ‘सुधार उन्मुख हुनुअघि खराब हुने’ ट्रम्पको अनुमान

डिसी नेपाल
७ साउन २०७७ ७:०३

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको महामारीको कारण देखापरेको अवस्था ‘सुधार उन्मुख हुनुअघि खराब हुने’ अनुमान गरेका छन्।

उनले कोरोनाभाइरस सम्बन्धी पत्रकारहरूलाई जानकारी दिने काम फेरि सुरु गरेका छन् र त्यही बेला उनले यस्तो बताएका हुन्। उनले सबै अमेरिकीहरूलाई मुख ढाकेर हिँड्न पनि भने। त्यसको असर हुने भन्दै उनले ‘देशप्रेम’ देखाउन पनि भनेका छन्।

सोही पत्रकार सम्मेलनका बेला उनले मास्क लगाएका थिएनन्। तर यसअघि भने उनले यस्ता व्यक्तिगत सुरक्षा सामग्रीको महत्त्व खासै नभएको बताउने गरेका थिए। अमेरिकाभर भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या उल्लेख्य रुपमा बढिरहँदा राष्ट्रपतिका सहयोगीहरूले उनलाई भाइरसबारे अपुष्ट कुरा नबोल्न भनेको बताइन्छ।

एप्रिलमा दैनिक हुने ब्रिफिङकै क्रममा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको उपचार निसङ्क्रमित बनाउने खोप लगाएर गर्न सकिने बताएपछि उनको चर्को आलोचना भएको थियो।

त्यसपछि मिडिया ब्रिफिङ पनि रोकिएको थियो। महिनौंपछि मङ्गलवार ह्वाइट हाउसमा भएको ब्रिफिङमा उनले धेरैजसो लेखिएकै कुरा भनेका थिए। उनले त्यहाँ खासगरी जनस्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको महामारीबारे भन्दै आएको कुरा नै भनेका थिए।

ट्रम्पले ‘दुर्भाग्यवश कोरोनाभाइरस सुधारको दिशातर्फ जानुअघि खराब हुने’ भन्दै चेतावनी दिएका हुन्। उनले भने: “हामी सबैलाई यही भनिरहेका छौं कि जब तपाईँ सामाजिक दूरी राख्न सक्नुहुन्न त्यतिबेला मास्क लगाउनुस्।”

“तपाईँलाई मास्क मन परे पनि मन नपरे पनि त्यसको असर हुन्छ र हामीले पाउन सक्ने प्रत्येक कुरा हामीलाई चाहिन्छ।” मिडियाका अगाडि भने मास्क लगाउन ट्रम्प अनिच्छुक देखिन्छन्। हालै एउटा सैन्य अस्पतालको भ्रमणमा जाँदा भने उनले मास्क लगाएका थिए।

राष्ट्रपति ट्रम्पले भने: “हामी अमेरिकीहरूलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सरसफाइमा ध्यान दिन भनिरहेका छौं – प्रत्येक पटक मौका मिल्दा हात धुनुस्।” “हामी युवाहरूलाई भीडभाडयुक्त बारहरू र घरभित्र हुने भेलाहरूमा नजान अनुरोध गरिरहेका छौं। सुरक्षित र चलाख हुनुहोस्।”

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिका, विश्वमै कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै रहेको देश हो। अहिलेसम्म त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख नाघिसकेको छ भने १ लाख ४१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *