सीमा क्षेत्रमा भारतीय ज्यादती : सीमा स्तम्भ उखाल्नेदेखि नेपालीमाथि कुटपिटसम्म

डिसी नेपाल
८ साउन २०७७ १०:१०

काठमाडौं। कञ्चनपुरको पुनर्वास नाकामा ०७३ फागुन २६ गते भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली युवा गोविन्द गौतमलाई गोली हानी हत्या गरेपछि पछिल्लो केही वर्ष यता नेपाल भारत सीमा सुरक्षा र अतिक्रमणका समस्या बढी नै चर्चामा आउन थालेका छन्।

कालापानी, लिपुलेक लिम्पियाधुरा, सुस्ता, महेशपुर मात्र होइन नेपाल भारत सीमा जोडिएका सबै जिल्लाहरुमा सीमा क्षेत्र प्राय तनावपूर्ण रहने गरेका छन्। नेपालतिरबाट समस्या नआएपनि दशगजा क्षेत्रमा भारतीय नागरिक र भारतीय सीमा सुरक्षा बल (एसएसबी) कारण समस्या उत्पन्न हुने गरेका छन्। २०७३ सालमा कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका ८, आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको हत्या त्यसकै परिणामा हो।

त्यतिबेलादेखिनै कञ्चनपुरको पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाको विभिन्न स्थानमा अतिक्रमणका घटना आइरहेका छन्, त्यहाँको अतिक्रमण रोकिएको छैन। बेलौरी नगरपालिकाको ६ वटा वार्डहरु भारतीयको अवरोधका कारण विकासको काम समेत प्रभावित भएको छ।

बेलाबेलामा नगरपालिका प्रमुख र जिल्ला प्रशासन कार्यालयले भारतीय पक्षसँग समन्वय गरेर विवाद मिलाउने प्रयास गरिरहेका हुन्छन्।  प्रदेश २ का सबै जिल्ला भारतीय अतिक्रमणमा परेका छन् भने तराईका सबै जिल्लामा कहीँ न कहीँ भारतले सीमा मिचेको छ।

मोरङको रतुवामाई र सुनवर्षी नगरपालिकामा भारतीयले सयभन्दा बढी घरटहरा बनाएका छन्। रतुवामाई नगरपालिका १ को सोनापुरमा ३५ र सुनवर्षी नगपालिका ८ सिक्टीमा ७५ घर भारतीयले बनाएको बरडंगास्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी)ले जनाएको छ । बीओपीका अनुसार दशगजामा भारतीयले बस्ती नै विस्तार गरेका छन्।

प्रसंग १
ठोरीमा सीमा स्तम्भ उखेलियो
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि पर्साको ठोरीमा रहेको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीस्थित सीता गुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फ्याँकिदिदा विवाद उत्पन्न भएको छ। शनिबार ठोरी गाउँपालिकाले भव्य कलशयात्रासहित सीता गुफामा पूजाअर्चना आयोजना गरेको थियो।

पूजा कार्यक्रम सकिएलगत्तै गुफा क्षेत्रबाट स्थानीय फर्किएको केही समयमा नै भारतीय पक्षले ४३६ नम्बरको सीमास्तम्भ उखेलेर फ्याँकेको ठोरीका स्थानीयले बताए। त्यसपछि नेपालको तर्फबाट सशस्त्र प्रहरी टोली र भारतको तर्फबाट समूहले दसगजास्थित सीमा क्षेत्रको निगरानी गर्यो।

नेपालतर्फ पर्ने सीता गुफाभन्दा करिब ८ मिटर दक्षिणतर्फ डाँडामा रहेको ४३६ नम्बरको सीमास्तम्भ उखेलिएको अवस्थामा फेला परेको ठोरीस्थित सशस्त्र प्रहरीको बिओपीका प्रहरी निरीक्षक दीपक दाहालले बताए।

उनका अनुसार उखेलिएको सीमास्तम्भलाई सशस्त्र प्रहरी र भारततर्फका एसएसबीको समूहले निगरानीमा राखेको छ। सो स्थानमा सशस्त्र प्रहरीका निरीक्षक दाहालको समूहसहित भारतीय एसएसबीको इन्सपेक्टरको कमान्डमा एसएसबीको टोली खटिएको छ। सशस्त्रका प्रहरी निरीक्षक दाहालका अनुसार सो स्थानमा कसैलाई पनि प्रवेश दिइएको छैन।

प्रसंग २
झापामा सशस्त्र प्रहरीमाथि आक्रमण

झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिका–५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरी पोष्टमाथि भारतीय नागरिकहरुले आक्रमण गर्दा सशस्त्र प्रहरीका दुई जवान घाइते भए। नेपाल–भारत सीमाक्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि शनिवार राती ९ः१५को समयमा करिब ४०/५० जनाको संख्यामा आएको घरेलु हतियारीधारीको समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन्।

उनीहरुलाई भगाउन सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको थियो। डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३ सय मिटरपूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि एक्कासी आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले ४ राउण्ड हवाई फायरसमेत गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरीक्षक साइमन श्रेष्ठले बताए।

प्रसंग ३

सिराहमा दुई पटक आक्रमण
लकडाउनको समयमा नेपालमा आफन्त भेट्न आएको भन्दै सिराहामा तीन महिनामा दुईपटक सीमा सशस्त्र प्रहरीसँग झडप भएको छ। गत वैशाख महिनामा सिराहा नगरपालिका–१९ सोहर्वा नगरपालिका–१७ माडर नाकामा झडप भएको थियो। सोहर्वामा दूध लिएर नेपालतर्फ प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले रोकेपछि झडप भएको थियो। करिब २०–२५ जनाको समूहले सीमापारिबाट सशस्त्रमाथि ढुंगा प्रहार गरेका थिए।

प्रसंग ४

झापाकै कचनकबलमा सेन्ट्रीमाथि आक्रमण

गत जेठमा झापाको कचनकवल १ घेराबारस्थित झन्डुगाउँको सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरियो। नेपाल–भारतको सीमाअन्तर्गत १२५ र १० नम्बरको सहायक पिल्लरनजिक बसेको सशस्त्रको अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण गरेका थिए।

उनीहरुले प्रहरी अस्थायी पोस्टको पाल च्यातिदिनुका साथै एउटा कुर्सी भाँचिदिएका छन् । पोस्टमा रहेको एउटा साइकल समेत उनीहरुले लुटेर लगेका छन्। नेपाली सुरक्षाकर्मी खाना खान गएको मौका छोपेर आएको समूहले पोस्टमा आक्रमण गरेको थियो।

ज़बर्दस्ती अतिक्रमण

भूमि व्यवस्था मन्त्रालयका अनुसार कञ्चनपुरको ब्रह्मदेवमण्डी–पूर्णागिरी, टनकपुर जलाशय क्षेत्र, टनकपुर ब्यारेज, बनबासा–गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शुल्काफाँटा, परासन–खुड्काककडमा पनि भारतले जबर्जस्ती सीमा विवाद झिक्दै आएको छ। कैलालीको सतिविरानाला, बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र, बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध विवाद यथावत नै रहेको छ।

दाङको कोइलाबास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी किनारमा सीमा समस्या खडा गरिदिएको छ। यस्तै दानव नदी (रसियावाल खुर्दलोटन बाँध), सुनौली नाका, सुस्ता नर्साही, वाल्मीकि आश्रम, दारानाला–दारीचुरे सिमा क्षेत्र विवादमा पार्नेकाम भारतले गरेको छ। पर्साका ठोरी, सिमरिया, लक्ष्मीपुर–पिपरा, वीरगन्ज–सिर्सिया गौर–जमुना गाउँ सीमा क्षेत्र भारतले अतिक्रमण गरेको छ। त्रिभुवननगर, संग्रामपुर–हथिऔल, माडर–चन्द्रगन्ज, ठाँडी, सुर्वापट्टीमा विवाद छ ।

सप्तरीका तिलाठी, सखडा–छिन्नमस्ता, कुनौली र भारदह,विष्णुपुर–शिवनगर, लालपट्टटी–गोविन्दपुर, तिलजा, मोहनिया, सरवाह, गोवरगाढामा पनि सीमा समस्या छ। सुनसरीका कटैया–भण्टाबारी, हरिनगरिया–शिवगन्ज साहेबगन्ज, पकरिया–झुमवा, भीमनगर मौजामा पनि विवाद रहेको छ। त्यस्तै मोरङका बुद्धनगर–जोगबनी, रंगेली–चोप्राहा, रानी, बक्राहा (लुना) नदी–चुनिमाडी, झापाका पाठामारी, मेचीगाउँ, महेशपुर, मेचीपुल, भद्रपुर–गलगलिया, काँकरभिट्टा, बारिसजोत, मदनजोत, नकलबन्दा, बाहुनडाँगी तथा इलामका चित्रेडाँडा, इलामको पशुपतिनगर, झिझिया भन्ज्याङ, मानेभन्ज्याङबाट सन्दकपुर जाने बाटो, मानेभन्ज्याङ, सन्दकपुर, जौबारी डाँडा अतिक्रमणमा परेका छन्। कालपाखरी, च्याङथापु, फालेलुङ, ताप्लेजुङ सीमा क्षेत्रका डाँडो चिवाभन्ज्याङ, टिम्बापोखरी, मेगना तुम्लीङ सीमामा भारतीय ज़्यादती छ।

संयुक्त बैठक बसेर सीमा व्यवस्थापन हुदै आएको छ : शर्मा

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले सीमा सुरक्षाका सम्बन्धमा नेपाल र छिमेकी मुलुकका अधिकारीहरुबीच विभिन्न समयमा नियमितरुपमा समन्वय तथा संयुक्त बैठक बसी सीमा व्यवस्थापन गरिँदै आइएको बताएका छन्।

उनले साथै छिमेकी मुलुकसँग सिमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र छिमेकी मुलुकका समकक्षी सरकारी अधिकारीहरुबीच सीमा व्यवस्थापन, शान्ति सुरक्षाका लगायतका विषयमा समेत छलफल गरी समन्वयात्मक रुपमा समस्या समाधान हुने गरेको बताए। बेला बेलामा दुई देशका अधिकारीहरुबीच सीमा सुरक्षा व्यवस्थाका लागि संयुक्त बैठकहरु हुने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीहरुले पनि सीमा व्यवस्थापनका लागि संयुक्त छलफल र बैठकहरु गर्नुभएको छ मन्त्रालयको तर्फबाट पनि आवश्यक समन्वय हुने गरेको छ’, मन्त्रालयका प्रवक्ता शर्माले भने।

उनका अनुसार सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि गृहमन्त्रालयको योजना अनुसार नै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ५ सय स्थानमा स्थापना गरिने लक्ष्य रहेको छ। ‘पहिलो चरणमा २२१ वटा बोर्डर आउट पोष्ट स्थापना कार्य अगाडी बढिरहेको छ। दार्चुलाको छाङ्गरु र हुम्लाको हिल्सा समेत गरी १२९ स्थानमा बोर्डर आउट पोष्टको स्थापना भईसकेको छ । आगामी आव मा ६९ वटा बोर्डर आउट पोष्टको भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको छ’, मन्त्रालयका प्रवक्ता शर्माले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *