भारतीय विदेश सचिव विक्रम मिश्रीद्वारा परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता
काठमाडौं। दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका अवसरमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने तथा दुई देशबीच रहिआएको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउने विषयमा फलदायी छलफल भएको छ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्द भारत भ्रमणको प्रारम्भिक तयारीका सिलसिलामा काठमाडौँ ओर्लिएका विदेश सचिव मिश्रीले आजै आफ्ना समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। साथै, उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत अन्य मन्त्रीहरूसँग पनि भेटघाट गर्नेछन्।
उच्चस्तरीय कूटनीतिक भेटघाटका क्रममा नेपाल र भारतबीचको समग्र द्विपक्षीय हित, आर्थिक सहकार्य, सीमापार पूर्वाधार विकास तथा ऊर्जा साझेदारीका विषयमा छलफल हुनेछ। विदेश सचिव मिश्रीले भोलि नयाँ दिल्ली फर्कनुअघि प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने तय भएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment