उद्योग खुलेः अर्धक्षमता मात्र

डिसी नेपाल
१२ साउन २०७७ १७:१८

वाग्मती । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण सुरक्षित रहन सरकारले घोषणा गरेको लकडाउनले लामो समय बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा आएको छन् । औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ ।

लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा नरहेको बताइएको छ । अत्यावश्यकबाहेक उत्पादन गर्ने उद्योग बन्द रहेका थिए । अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको सो कार्यालयले जनाएको छ ।

कच्चापदार्थको कमी, उत्पादनअनुसारको माग र उत्पादन नहुनु तथा जनशक्ति कमीले सञ्चालनमा समस्या रहेको कार्यालयका प्रमुख राजेन्द्र कँडेलले बताए । साथै उनले आर्थिक मन्दी र उत्पादन गरिएका सामान बिक्री नभई गोदाममा थन्किने कारणले उद्योगीहरु तनावमा रहेको स्पष्ट पारे ।

उता उद्योगी एवं व्यवसायीका अनुसार बैंकको ब्याज, कच्चापदार्थको अभाव र महँगीका कारण उद्योग चलाउन समस्या रहेको गुनासो पाइएकोे छ । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरुमा करीब पाँच हजार मजदुर कार्यरत रहेको तर लकडाउनमा घर गएका धेरै मजदुर नआएकाले पनि उद्योगमा समस्या परेको हो । लामो दूरीका सवारीसाधन सञ्चालन हुन नसक्नु पनि एउटा ठूलो समस्या हो । नब्बे प्रतिशत मजदुर हेटौँडा बाहिरका छन् । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको रु पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी रु ९० करोड रहेको कार्यालयले जनाएको छ ।

काष्ठ उद्योगी रामपुकार ठाकुरले बजारमा उपभोक्ताको अभावका साथै खरिदबिक्री पनि कम भएको बताएका छन । हेटौँडा सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र एशियन पेन्ट्स उद्योगलगायत अन्य उद्योगहरु पनि पूर्ण क्षमतामा सञ्चालनमा नरहेको सम्बन्धित उद्योगीको गुनासो पाइएको छ । कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले तोकेको मापदण्डअनुसार उद्योगहरुले पालना गरिरहेका छन् । यसैबीच हेटौँडा बजारमा ग्राहकको कमी रहेकाले व्यावसायिक कारोवारमा समस्या रहेको बुधचोकका व्यवसायी हेम मानन्धरले गुनासो गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *