प्राइम कमर्सियल बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थपियो, अब असार ३० सम्म भर्न पाइने
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने म्याद थपिएको छ। बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ मा अब लगानीकर्ताले असार ३० गतेसम्म आवेदन दिन पाउने भएका छन्। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ।
कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको हिस्सामा ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ। लगानीकर्ताले यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
सानिमा क्यापिटल लिमिटेड यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
बैंकले डिबेञ्चरबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि प्रचलित कर कट्टा गरेर लगानीकर्तालाई भुक्तानी गर्ने जनाएको छ। यदि तोकिएको मितिअगावै मागभन्दा बढी आवेदन परेको खण्डमा बैंकले सूचना प्रकाशित गरी निष्काशन बन्द गर्ने जानकारी गराएको छ।






डिसी नेपाल





Facebook Comment